Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा नेपाली विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने

काठमाडौं । अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने गरी कानून ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधि घटाउने प्रस्ताव तयार पारेको हो । विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानून ल्याउने प्रस्ताव अघि सारेको हो ।
हालको कानूनअनुसार विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ । उक्त कानूनलाई परिमार्जन गर्दै तयार पारिएको नयाँ कानूनी व्यवस्थाले ठगी कम गर्ने र राष्ट्रिय सुरक्षा मजबुद बनाउने दाबी गरिएको छ । विशेष गरी नयाँ कानुनमा आतंकवादीहरुको वर्चश्व रहेका राष्ट्रहरु इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने मुलुक, इलेक्ट्रोनिक भेरिफिकेसन नभएका विद्यालय र अप्रमाणित विद्यालयका विद्यार्थीलाई दुई वर्षभन्दा बढी वर्ष भिसा नदिन प्रस्ताव गरिएको जनाइएको छ । नेपालबाट अमेरिका पुगेका विद्यार्थीमध्ये १० प्रतिशत बढी भिसा सकिएर पनि अमेरिकामै बसेकाले यो नियम लागू भएमा नेपाल पनि दुई वर्षे भिसा पाउने सूचीमा पर्नेछ ।
इन्स्चिट्युड अफ इन्टरनेशनल एडुकेसनको ओपन डोर्सको रिपोर्टअनुसार सन् २०१८र२०१९ मा २४ हजार भियतनामी, १३ हजार नाइजेरियन, १३ हजार नेपाली र १२ हजार इरानी विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका छन् । चित्तबुझ्दो कारण प्रस्तुत गरेर पाठ्यक्रम अनुसार अवधि थप्न भने सकिने जनाइएको छ ।