Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ ।
समाचारमा लेखिएअनुसार यो निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन । त्यसबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरुलाई ‘केही दिनभित्र’ दिशानिर्देश प्राप्त हुने भनिएको छ ।
ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दबाब बढाउँदै गएको बेला पछिल्लो यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्का भएको अलजजिराले लेखेको छ ।
गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् ।
मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार ट्रम्प प्रशासनले हार्बर्डसँग बाँकी रहेको संघीय सम्झौता पनि चाँडै तोड्न लागेको छ । यदि त्यो सम्झौता तोडिएमा यो प्रकरणमा हालसम्मकै ठूलो कदम हुनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिका आउने व्यक्तिहरुले यहाँको कानुन बुझ्नुपर्ने बताइन् । बसाइँ लामो होस् या छोटो आपराधिक उद्देश्य नभएको हुनुपर्ने उनको जोड थियो ।
ब्रुसले विद्यार्थी भिसाका आवेदकहरूले प्राप्तिको सामान्य प्रक्रिया अपनाउनुपर्ने तर बढी जाँच हुन्छ भन्ने बुझ्नुपर्ने पनि बताइन् । यदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिँदै हुनुहुन्छ भने, सामान्य प्रक्रिया अपनाउनुहोस्, सबै चरणहरू पूरा गर्नुस् र जाँचको सामना गर्न तयार हुनुस्, उनले भनिन् ।
उच्च शिक्षासम्बन्धी ट्रम्प प्रशासनका पछिल्ला निर्णयहरूले अमेरिका भित्र अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूका अधिकार र शैक्षिक स्वतन्त्रताको सवालमा संवैधानिक प्रश्नहरू उठाइरहेका छन् ।
गत हप्ता, विदेशमन्त्री रुबियोले अमेरिकी सिनेटमा बोल्दै २० जनवरीमा ट्रम्पले राष्ट्रपतिको पद सम्हालेदेखि ‘हजारौं’ भिसा रद्द गरेको जानकारी गराएको थियो । यद्यपि यसको पूर्णविवरण सार्वजनिक गरिएको छैन ।
२०८२ जेष्ठ १७
ताजा नेपाल
२०८२ जेष्ठ १७
ताजा नेपाल
२०८२ जेष्ठ १७
ताजा नेपाल