Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकाले पर्यटक (बी–२) र व्यवसायिक (बी–१) भिसाका लागि लागू गरिएको भिसा बन्ड (Visa Bond) कार्यक्रमलाई स्थायी बनाएको छ। नयाँ व्यवस्थाअनुसार नेपालसहित ५० देशका नागरिकले अमेरिकी पर्यटक वा व्यवसायिक भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलरसम्म धरौटी (बन्ड) राख्नुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार फेडरल रजिस्टर मा प्रकाशित सूचनामार्फत एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्था सोमबारदेखि लागू हुनेछ।
यसअघि परीक्षण कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार डलर बन्ड राख्ने व्यवस्था रहेकामा अब ५ हजार डलरको विकल्प हटाइएको छ। नयाँ नियमअनुसार बन्ड रकम १० हजार वा २० हजार डलर मात्र हुनेछ।
भिसा आवेदकले अन्तर्वार्ताअघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भए रकम फिर्ता हुनेछ भने भिसा स्वीकृत भएर अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गरी समयमै फर्किएमा पनि बन्ड रकम फिर्ता पाइने व्यवस्था गरिएको छ।
डोनाल्ड ट्रम्प प्रशासनले गत वर्ष अगस्टमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको थियो। अमेरिकी अधिकारीहरूका अनुसार भिसाको अवधि सकिएपछि पनि अमेरिका बसिरहने एक जनालाई पक्राउ गरी देशनिकाला गर्न औसतमा १८ हजार अमेरिकी डलर खर्च हुने गरेको छ।
नयाँ व्यवस्थाले विशेषगरी नेपाल, बंगलादेश र भुटान का नागरिकलाई प्रत्यक्ष असर गर्नेछ। अब यी देशका नागरिकले अमेरिकी पर्यटक वा व्यवसायिक भिसाका लागि आवेदन दिँदा बन्ड राख्नु स्थायी व्यवस्था बनेको छ। यसले अमेरिका भ्रमण, व्यवसायिक यात्रा वा आफन्त भेट्न जाने तयारीमा रहेका व्यक्तिमाथि अतिरिक्त आर्थिक भार पर्ने देखिएको छ।
अमेरिकी विदेश मन्त्रालयले कार्यक्रम सफल भएको दाबी गरेको छ। सरकारी तथ्यांकअनुसार सन् २०२४ मा सूचीमा रहेका ५० देशका करिब ४५ हजार ५ सय आगन्तुकले भिसाको अवधि सकिएपछि पनि अमेरिका नछाडेका थिए। तर परीक्षण कार्यक्रम लागू भएको पहिलो १० महिनामा बन्डको दायरामा परेका आवेदकमध्ये ५० जनाभन्दा कम ले मात्र भिसा अवधि उल्लंघन गरेको मन्त्रालयको दाबी छ।
सुरुमा वार्षिक करिब दुई हजार आवेदकले मात्र बन्ड तिर्नुपर्ने अनुमान गरिए पनि व्यवहारमा झन्डै २० हजार आवेदक यस व्यवस्थामा परेका थिए। तीमध्ये करिब आधाले बन्ड रकम नतिर्ने निर्णय गरेपछि सूचीमा रहेका देशका नागरिकलाई जारी हुने अमेरिकी भिसाको संख्या ८३ प्रतिशतले घटेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
२०८३ श्रावण १७
ताजा नेपाल
२०८३ श्रावण १७
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल