Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरुले पार नलगाउने देखेपछि स्थापितको जिम्मा

काठमाडौँ । नेकपा एमालभित्र केशव स्थापितका विरुद्ध जनमत भए पनि काठमाडौंका नागरिकको मन जित्न स्थापित नै चाहिने अवस्था आएपछि पार्टीको असहयोगबीच पनि केशव स्थापिले काठमाडौंको मेयर पदमा टिकट पाउने भएका छन् । पाँचदलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने सहमति गरेपछि दबाब खेपिरहेको प्रमुख प्रतिपक्ष दल एमालेले महानगर र उपमहानगरपालिकाका लागि रणनीतिक रूपमा उम्मेदवार चयन गरेको छ । गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्य राखेर प्रमुख प्रतिपक्षी दल एमालेले महानगर र उपमहानगरमा प्रमुख–उपप्रमुखका उम्मेदवार टुंगो लगाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । उनका अनुसार तल्ला कमिटीले सिफारिस गरेका नामका आधारमा एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार ५ महानगर र ९ उपमहानगरमा उम्मेदवार तय गरेको हो । तालमेलको सम्भावनालाई ध्यानमा राखेर एमालेले एक महानगर र दुई उपमहानगरमा उम्मेदवार चयन बाँकी राखेको छ । आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरे पनि पाँचदलीय गठबन्धनका कारण दबाब महसुस गरेको एमालेले उम्मेदवार चयनमा नवप्रवेशीलाई पनि उत्तिकै महत्त्व दिएको छ । वीरगन्ज महानगर र नेपालगन्ज उपमहानगरमा एमालले नवप्रवेशीलाई टिकट दिएको छ । एमालेले काठमाडौं महानगर प्रमुखमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौंको प्रमुखका लागि संघीय सांसद रामवीर मानन्धरसहित पाँच जना उम्मेदवारको नाम सिफारिस भएको थियो । ०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेपछि स्थापितले केही राम्रा काम गरेका थिए । तर, उनी कामभन्दा धेरै विवादमा तानिने गरेका थिए ।
पछिल्लो समय उनी वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीबाट बर्खास्त भएका थिए । केपी शर्मा ओली एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष हुँदा स्थापित महासचिव थिए । स्थापित ओलीपछि युवा संघको अध्यक्ष बनेका थिए । २०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषद्को नवौं सदस्यसचिव भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी काठमाडौं महानगर प्रमुखमा मनोनीत भए । यसअघि स्वतन्त्र रूपमा काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी घोषणा गरेकी सुनीता डंगोललाई एमालेले उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । मिस नेवाः बनिसकेकी उनी एमालेको महानगर कमिटीबाट सिफारिस भएकी थिइनन् ।
वीरगन्ज महानगरमा जसपाबाट प्रवेश गरेका हालका प्रमुख विजय सराबगीलाई एमालेले उम्मेदवार बनाएको छ । त्यहाँ एमाले र लोसपाबीच तालमेल गर्ने सहमति छ । एमालेले मधेसमा पार्टीको जनाधार बढेको दाबी गर्दै आएको छ । वीरगन्ज महानगरपालिकामा एमालेले उपप्रमुखको उम्मेदवार खाली राखेको छ । एमालेले ६ मापदण्डका आधारमा उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो । ललितपुर, भरतपुर महानगर तथा जनकपुर र नेपालगन्ज उपमहानगरका उम्मेदवार सर्वसम्मत सिफारिस भएका थिए । भरतपुरमा एमालेले विजय सुवेदीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी वाग्मती प्रदेशसभा सदस्यबाट राजीनामा गरेर महानगरमा उठ्न लागेका हुन् । ०७४ को निर्वाचनमा झिनो मतले पराजय व्यहोरेको भरतपुरमा यसपालि नतिजा उल्टाउने एमालेको योजना छ । भरतपुरमा उपप्रमुख उम्मेदवार भने तय गरिएको छैन । एक नेताका अनुसार राप्रपासँग तालमेलका लागि प्रयास भएकाले बाँकी राखिएको हो ।
ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य उम्मेदवार हुने भएका छन् । व्यञ्जनकार एमाले केन्द्रीय सदस्य हुन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका चिरीबाबु महर्जनसँग थोरै मतान्तरमा पराजित भएका थिए । शाक्य एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष हुन् । एमालेले पोखरा महानगरको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने भएको छ । पौडेल प्रदेश कमिटी सदस्य हुन् । उनी एमालेनिकट शिक्षक संगठनका पूर्वउपाध्यक्ष हुन् । उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच गुटको लडाइँका कारण सचिवालयले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । गुरुङ अहिले पोखरा महानगरको उपप्रमुख हुन् । उनी प्रमुखको उमेदवारका लागि सिफारिस भएकी थिइन् ।
एमालेले नेपालगन्ज उपमहानगर प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र नवप्रवेशी हुन् । उनी हृदयेश त्रिपाठीको राजनीतिक समूहमा जोडिई ०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्नबाट चुनाव लडेर पराजित भएका थिए । एमालेले धनगढी उपमहानगरको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्तकला राना थारूलाई उम्मेदवार बनाएको छ । तुलसीपुर उपमहानगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी तथा घोराही उपमहानगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डीसीलाई उम्मेदवार तोकिएको छ । त्यसैगरी, बुटवल उपमहानगर प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल, हेटौंडा उपमहानगर प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, धरान उपमहानगर प्रमुखमा मञ्जु भण्डारी र उपप्रमुखमा पदम लिम्बू, इटहरी उपमहानगर प्रमुखमा यामकुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरी तथा कलैया उपमहानगरको प्रमुखमा विनोद साहलाई एमालेले उम्मेदवार तोकेको छ । तालमेलका लागि भनेर कलैयाको उपप्रमुख खाली राखेको छ । सचिवालय बैठकले अन्य पार्टीसँग तालमेलका लागि भनेर जनकपुर, जितपुर–सिमरा र विराटनगरको प्रमुख र उपप्रमुख टुंगो लगाएको छैन ।