Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थ र गृह दुवै माओवादीले गुमाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काङ्ग्रेससँगको सम्बन्ध टुटाएर एमाले, रास्वपा र जसपासँग गठबन्धन कसेका प्रचण्ड नयाँ गठबन्धन बनेको पहिलो रातदेखि नै नयाँ तनावमा फसेका छन् । केपी ओलीसँग आवेशमा आएर गठबन्धन बनाए पनि महत्वपूर्ण मन्त्रालय कसले लिने, टुंगो छैन । नेपाली कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ । यस्तै हो भने एक महिनाभित्र प्रचण्डलाई विश्वासको मत लिनसमेत हम्मेहम्मे पर्ने स्थिति देखा परेको छ । रोचक त के छ भने एमाले अध्यक्ष केपी शर्मा ओली वर्षमान पुनलाई अर्थमन्त्री मान्न तयार छैनन् । पुनले विगतमा एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग गठबन्धन कसेको ओलीको बुझाइ छ । साथै सुनकाण्डका आरोपीसँग पुनको उसबस रहेको भन्दै ओलीले उनलाई अर्थमन्त्री बनाउन नहुने अडान प्रचण्डसमक्ष राखेका छन् । अर्थमन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी एमालेले पाउनुपर्ने ओलीको अडान छ । प्रधानमन्त्री प्रचण्ड भने यही अर्थमन्त्रालय आफूले राख्न नपाएर कांग्रेसबाट बिच्किएका हुन् । पार्टीभित्रको सन्तुलन मिलाउनका लागि पनि प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउन चाहेका छन् । तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफू अर्थ र गृहमध्ये एउटा नछाड्ने पक्षमा छन् । यो अवस्थामा गृह र अर्थमन्त्रालय लिने विषयमै एमाले र माओवादीबीच रडाको पर्नसक्ने देखिएको छ । एमालेलाई अर्थमन्त्रालय दिने हो भने प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन किन तोडे भन्ने प्रश्न उठ्छ । उता गृहमन्त्रालय नपाएर सरकारलाई समर्थन नगर्ने अडानमा रास्वपा सभापति रवि लामिछाने छन् । रविलाई साथमा नलिने हो भने प्रचण्ड सरकार ढल्न सक्ने अर्को जोखिम छ । तर, रविलाई गृहमन्त्री नबनाउन एमाले र माओवादी दुबै दलभित्र चर्को दबाब छ । रविलाई भने सरकारमै नजान र प्रतिपक्षमै बस्न पार्टी कार्यकर्ताको चर्को दबाब छ । अर्थ र गृह मन्त्रालयमा एमाले, माओवादी र रास्वपाको त्रिकोणात्मक द्वन्द्वका कारण नयाँ गठबन्धन सरकारले पूर्णता नै नपाई ढल्ने पो हो कि भन्ने जोखिम बढेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो कुर्सी जोगाउन एमालेलाई अर्थ र रास्वपालाई गृहमन्त्रालय दिने हो भने कांग्रेससँग गठबन्धन टुटाएर माओवादीलाई के फाइदा भयो भन्ने प्रश्न उठ्ने छ । त्यसबेला राष्ट्रियसभा अध्यक्षमा झक्कु सुवेदीलाई पठाउने कुरालाई माओवादीले उपलब्धि मानेर बस्नुपर्ने हुन्छ । नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्लो समय शेरबहादुर देउवाले प्रचण्डलाई गृह र अर्थ दुबै राख्न भनिसकेका थिए ।