Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अष्ट्रेलियाबाट फर्किए चार फुटबलर

काठमाडौं । पछिल्लो डेढ वर्षमा राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसहित ५० भन्दाबढीले रोजगारीका लागि देश छाडेका थिए। अधिकांशको गन्तव्य अस्ट्रेलिया हुनेगरेको छ। अझै पनि त्यो क्रम रोकिएको छैन। अस्ट्रेलिया पुगेकामध्ये चार फुटबलर फेन्च्राइज लिग नेपाल सुपर लिग ९एनएसएल० खेल्न स्वदेश फर्किएका छन्। नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा शुक्रबार सुरु हुने एनएसएल खेल्न चारजना खेलाडी आइकोनिक खेलाडीको रूपमा स्वदेश फर्किएका हुन्। एनएसएलमा सहभागी ९ टोलीमध्ये ५ टोलीले आइकोनिक खेलाडी घोषणा गरेका छन्। स्वदेश मै रहेका आवास लामिछानेलाई झापा एफसीले आइकोनिक खेलाडीका‌ रुपमा भित्रायो। अन्य ४ जना आइकोनिक खेलाडी अस्ट्रेलियाबाट एनएसएल खेल्न फर्केका हुन्। अष्ट्रेलियाको भिसा रहेका कारण यी खेलाडीलाई एनएसएल टोलीले आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको हो। आइकोनिक खेलाडीका‌ रुपमा स्वदेश आएका दिनेश राजवंशी, विमल घर्ती मगर, तेज तामाङ र आशिष लामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य हुन्। तेज र दिनेशले गत जनवरीमा नेपाल छाडेका थिए। तेज वीरगन्ज युनाइटेडबाट खेल्दैछन्। देश छाड्नुअघि राष्ट्रिय टोलीका नियमित सदस्य तेजले अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए। तेज पहिलो संस्करणको एनएसएलमा काठमाडौँ रेर्जसबाट खेलेका थिए। काठमाडौं पहिलो सिजनको च्याम्पियन टोली हो। दिनेश यसपटक पोखरा थन्डर्सबाट खेल्दैछन्। अघिल्लो सिजन ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडमा अनुबन्ध भएपनि लिग सुरु हुनु अघिनै तेज र दिनेशलेले देश छाडेका थिए। विमल असोज १२ गते अस्ट्रेलिया पुगेका थिए। त्यसको ३ दिनमा नै एफसी चितवनले आफ्नो आइकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको थियो। अस्ट्रेलिया जानुअघि एपीएफ फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलेका आशिष बुटवल लुम्बिनी एफसीबाट यो पटक मैदानमा देखिनेछन्। विदेशमा रहेका खेलाडीलाई एनएसएलमा फर्काउन मद्दत पुगोस् भन्नका लागि नै आयोजकले यसपटक आइकोनिक खेलाडीको कोटा थपेको‌ थियो। पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको एनएसएलमा यसपटक ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यसपटक ४० खेल हुनेछ। पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स र विराटनगर एफसीले खेलेका थिए।‌ यसपटक विराटनगरले भाग लिएन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुस २१ गतेसम्म चल्ने एनएसएलमा झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलाम नयाँ टोली हुन्।