Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पतालकै बेडमा पुग्यो देउवा दम्पत्तिको राहदानी

काठमाडौं । यहाँ राज्यका सबै संयन्त्र हुने खाने र राजनीतिक उचाइ लिएकाहरुलाई नै हो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको राहदानी उनीहरू उपचाररत स्थानमै बनाएर प्रदान गरिएको खुलेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नयाँ राहदानी ३ असोजमा बनाइएको र उपचारका लागि ब्याङ्कक जानेगरी थाइल्यान्डको भिसा समेत लगाइसकेको तथ्य सार्वजनिक भइसकेको छ। स्रोतका अनुसार, नयाँ राहदानी निर्माणका लागि राहदानी विभागका अधिकारीहरू देउवा दम्पती उपचाररत रहेको अज्ञात स्थानमा पुगेका थिए। ‘जेन जी’ प्रदर्शनका क्रममा अराजक समूहले २४ भदौमा बुढानीलकण्ठस्थित निवासमा आक्रमण गरेको थियो। त्यो समूहले देउवा निवासमा तोडफोड र आगजनी मात्र गरेको थिएन, उनीहरूमाथि सांघातिक आक्रमणसमेत गरेको थियो। आक्रमणबाट दुवैको गर्धनमा गम्भीर चोट लागेको थियो। आक्रमणका क्रममा ८० वर्ष पार गरिसकेका सभापति देउवा र ‘हिप ट्रान्सप्लान्ट’ गरेकी तत्कालीन परराष्ट्रमन्त्री राणालाई लछार–पछार र धारिलो हतियार समेतले प्रहार गरिएको थियो। आक्रमणपछि सार्वजनिक भएका फोटो–भिडिओमा देउवा र राणा रक्ताम्य अवस्थामा देखिन्छन्। सुरक्षाकर्मी र आन्दोलनकारीमध्येकै केहीले मानवीयताका आधारमा उनीहरूलाई सुरक्षित स्थलतर्फ लगेर सुरक्षित गराएका थिए। यद्यपि, उनीहरूको उद्धारका लागि थप सुरक्षाकर्मी र गाडी आउनुपूर्व पनि प्रदर्शनकारीहरूबाट उनीहरूमाथि ढुङ्गा प्रहार भइरहेको थियो। उद्धारका लागि हेलिकोप्टर बस्नसमेत प्रदर्शनकारीहरूले दिएका थिएनन्। स्रोतका भनाइमा, सभापति देउवाभन्दा पनि राणा बढी घाइते भएकी छन्। ‘हिप ट्रान्सप्लान्ट’ का कारण आक्रमणअघि सामान्य अवस्थामा समेत उक्लिन–ओर्लिन दोस्रो व्यक्तिको सहयोग लिनुपर्ने अवस्थामा राणा थिइन्।
पछिल्लो समय उनी नियमित स्वास्थ्य उपचारका लागि भारत, जापान लगायतका मुलुक जाने गरेकी थिइन्। २४ भदौको आक्रमणबाट घाइते र थप सुरक्षा चिन्ता थपिएपछि देउवा दम्पती थप उपचारका लागि थाइल्यान्ड जाने योजना अनुसार नयाँ राहदानी बनाइएको थियो। यसअघि प्रयोग हुँदै आएको राहदानी २४ भदौको आगजनीमा परेर जलेको थियो। सुरक्षा अवस्था र प्रतिकूल स्वास्थ्यका कारण देउवा दम्पती नयाँ राहदानी निर्माणका लागि आफै त्रिपुरेश्वरस्थित राहदानी विभाग जानसक्ने स्थिति थिएन। त्यही कारण राहदानी प्रिन्ट गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री बोकेर राहदानी विभागका अधिकारीहरू देउवा दम्पती भएकै स्थानमा पुगेका थिए। नयाँ राहदानी बनाउन ‘अनलाइन फर्म’ भर्नुपर्ने हुन्छ। फर्म भर्दा आवश्यक पर्ने फोटो र प्रस्ट स्वरूपको फिङ्गर प्रिन्ट औँठाको छाप अत्यावश्यक हुन्छ। यी दुई कुरा छलेर फर्म भर्नसक्ने स्थिति नै हुँदैन। यद्यपि, फर्म भर्ने क्रममा व्यक्तिको प्रस्ट ‘फिङ्गर प्रिन्ट’ अत्यावश्यक भए पनि सबै अवस्थामा सबै व्यक्तिको ‘फिङ्गर प्रिन्ट’ प्रस्ट रूपमा नआउन सक्छ। खासगरी रासायानिक पदार्थ वा सिमेन्टसँग सम्बन्धित काम गर्नेहरूको राहदानी बनाउँदा प्रस्ट फिङ्गर प्रिन्ट नदेखिएरसमस्या हुने गरेको छ। त्रिपुरेश्वरस्थित राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोगहरूका अलावा नेपाली नियोगहरूले घुम्ती शिविरहरूमार्फत् पनि विदेशमा नेपाली राहदानी वितरण गर्दै आएका छन्। आफ्ना नागरिकहरूलाई पाँच वर्षयता नेपालले ई–पासपोर्ट विद्युतीय राहदानी प्रदान गर्ने भएकाले घुम्ती शिविरमार्फत् वितरण गर्न फोटो खिच्ने विशेष क्यामरा, ‘फिङ्गर प्रिन्ट’ पढ्न सक्ने मेसिन, इ–पासपोर्ट प्रिन्ट गर्ने प्रिन्टरसहितको ‘मोबाइल किट’ साथमै लिएर जाने गर्छन्। स्रोतका अनुसार, विभागका अधिकारीहरू मोबाइल राहदानी वितरणका बेला प्रयोग गरिने त्यही ‘किट’ बोकेर पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्री रहेको स्थानमा पुगेका थिए।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल