Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजिपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

काठमाडौं । ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ। यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेकी थिइन्।
सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। पोखरेलले अन्तरिम आदेश माग गरेपनि न्यायाधीश माथेमाले स्थानीय निर्वाचनमा प्रहरी संगठन प्रमुखविहीन हुँदा समस्या हुने तर चाँडै फैसला गर्न सकिने सरकारी पक्षको आग्रहलाई समर्थन गर्दै आदेश गरेकी थिइन्।
आईजिपीको दर्ज्यान्ही चिह्न लगाइसकेको व्यक्तिलाई काम गर्नबाट रोक्न नहुने तर्कसमेत सरकारी पक्षका वकिलहरुले गरेका थिए। न्यायाधीश माथेमाले भने दर्ज्यान्ही चिह्न लगाइसकेको अवस्थाबारे अन्तिम सुनुवाइमा छलफल हुने आदेश गरेकी थिइन्। सिंह एआईजीमा बढुवा भएको एक महिनामै आईजिपीमा बढुवा भएका थिए। सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि सिंहको आईजिपी बन्ने बाटो खुलेको थियो। प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजिपी बनाउनसक्ने व्यवस्था रहेकाले सरकारलाई आफूले चाहेको व्यक्तिलाई बढुवा गर्नसक्ने सुविधा रहेको सरकारी वकिलहरुको तर्क छ।
पोखरेल २०७७ मंसिर र सहकुल थापा २०७८ असारमा एआईजीमा बढुवा भएका थिए। ज्येष्ठता मिच्दा प्रहरी संगठनमा चेन अफ कमान्ड नै ध्वस्त हुने र अराजक बन्नसक्ने खतरा रहने पोखरेल पक्षको तर्क रहेको छ। पोखरेलको विपक्षमा फैसला भए उनले आगामी साउनमा उमेर हदका कारण अवकाश पाउने छन्। पोखरेल र सिंहले एउटै मिति अर्थात २०४९ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन्।