Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूविरुद्ध उठेको गम्भीर आरोपको जवाफ दिनुको सट्टा ‘प्रवचन’ दिएको टिप्पणी गरेका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए। त्यसको जवाफमा कार्कीले सुनारलाई ‘पाषाणयुगीन सोच भएका शासक’ भन्दै आफूविरुद्ध लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए।
आईजीपी कार्कीले आफ्नो मर्यादासमेत ख्याल नगरी बिना प्रमाण आरोप लगाइएको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि सांसद सुनारले लेखा समितिको बैठक बहिष्कार गरेर बाहिरिएका थिए। उनको कदमप्रति अन्य दलका सांसदसँगै रास्वपाकै सांसद गोविन्द पन्थीलगायतले आलोचना गरेका थिए।
त्यसको जवाफमा सामाजिक सञ्जालमार्फत सुनारले गम्भीर आरोप लागेको व्यक्तिले बयान दिनुपर्ने, प्रवचन दिन नहुने बताएका छन्।
उनले आफू राष्ट्रसेवक प्रहरी सिपाही तथा दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव रहेको उल्लेख गर्दै प्रहरीका जुत्ता, मोजा, पोसाक तथा रासनलगायतका विषयमा गम्भीर आर्थिक अनियमितताको आरोप लागेको बताएका छन्।
सुनारले राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा सार्वजनिक लेखा समितिले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ।’
सांसद सुनारले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम’ कसैले न कसैले लिनुपर्ने भन्दै आफूले त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्।
यसैबीच, सांसद सुनारलाई रास्वपाका नेता–सांसद तथा सभामुखले समेत विवादित विषयमा संयमित भएर बोल्न सुझाव दिएका छन्। तर सुनारले भने आफूले उठाएको विषय बर्दी र फुली देखाएर धम्क्याउँदै टुंग्याउन नसकिने बताएका छन्।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल