Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईटी विकासमा सरकार–निजी क्षेत्रको सहकार्य आवश्यक

२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रसाद ढकालले सूचना प्रविधि आईटी क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्

काठमाडौं भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको बृहत सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी क्यान इन्फोटेक को ३०औं संस्करण उद्घाटनमा ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।

आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खर्बौं रुपैयाँ बराबर सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे ।

महासंघले अन्य विभिन्न कानुनका साथै आईटी तथा स्टार्टअप र इनोभेसन क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसँग बहस गर्दै आइरहेको जानकारी उनले बताए ।

ढकालले महासंघको पहलपछि सरकारले नेपाली आईटी क्षेत्र विकासमा लागि पछिल्ला कानुनमा गरेको संशोधनले महत्त्वपूर्ण योगदान दिने बताए ।

नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ,उनले भने ।

क्यान इन्फोटेकले नवीनतम प्रविधि, स्टार्टअप, इनोभेसन तथा स्थानीय बजार माग अनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानमा सहयोग पुग्ने उनको भनाइ छ ।

सरकारले नेपालमा आर्टिफिसियल इन्टिलिजेन्स एआई विकास र प्रयोगका लागि राष्ट्रिय आर्टिफिसियल इन्टिलिजेन्स नीति २०८१ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको ढकालले बताए ।

फरक प्रसंगमा अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताए ।

पाथीभरा केबुलकार प्रकरणमा भइरहेका विरोधका विषयमा उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा सर्वसाधारणमा आग्रह गरे ।

२४ देखि २८ माघसम्म चल्ने क्यान इन्फोटेक उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आईटी क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सह्राना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।