Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आखिर किन भड्कियो प्रतिपक्ष ?

काठमाडौं । गत सोमबारको विवादास्पद् अभिव्यक्तिबाट विक्षिप्त बनेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार एकपटक निक्कै खुसी थिए। कारण थियो गत बुधबारदेखि निरन्तर संसद् अवरोध गरेर प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी दल एमालेलेलाई मनाउन सत्तागठन्धनका शीर्ष दुई दल सफल भए। त्यतिबेला एमाले एकै शर्तमा राजी थियो, सदनमा प्रधानमन्त्रीको स्पष्टीकरण। सभामुख देवराज घिमिरेले आइतबार १ बजेका लागि डाकेको प्रतिनिधिसभा बैठक संसद् गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले लामै छलफलमा बिताएपछि बैठक ३ बजेका लागि सारे।
छलफलपछि ओली सिंहदरबारबाट बाहिरिने क्रममा ‘सहमति भयो अध्यक्ष ज्यू ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले ‘भरे थाहा देख्नुहुन्छ’ भन्ने संक्षिप्त प्रक्रियामात्रै दिए। तर, एमालेकै प्रमुख सचेतक पदम गिरीलगायतका प्रतिपक्षी नेताहरूले प्रधानमन्त्रीले स्पष्टीकरण दिने र सो स्पष्टीकरण आफूहरूलाई मन परे मात्रै संसद् चल्न दिने सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिइरहेका थिए।
त्यतिबेला सत्तापक्ष र प्रतिपक्षका सांसदहरू संसद् चल्ने र संसद्‍मा प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण सुन्नका लागि संघीय संसद् भवनतिर आइरहेका थिए। प्रधानमन्त्रीपनि आफ्नो स्पष्टीकरणको अन्तिम तयारी गरिरहेका थिए। सो छलफलको खुसी केही घण्टापनि टिक्न सकेन। कारण बन्यो, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिका साथै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका ट्‍‍विट। यसअगाडि सो विज्ञप्ती र ट्‍‍विटबारे कुनै जानकारी नपाएका अध्यक्ष ओलीलाई छलफल भएपछि मात्रै पार्टीका नेताहरूले जानकारी गराए। सो जानकारी पाउनेबित्तिकै ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सो विज्ञप्तीहरू तुरून्तै फिर्ता गरेमात्रै संसद् बैठक चल्न दिने र नत्र गतिरोध कायमै राख्ने बताए। प्रधानमन्त्री प्रचण्डलेपनि पार्टीमा छलफल गर्ने बताउँदै सभामुखलाई फोन गरेर आजका लागि बैठक स्थगित् गर्न आग्रह गरे।
देशविरोधी अभिव्यक्ति दिएको निहुँमा संसद् अवरोध गरिरहेका ओलीलाई माओवादीका तर्फबाट आएको काउन्टर विज्ञप्तिहरूले संसद् अवरोध गर्न झन् सहयोग मिल्यो। प्रधानमन्त्रीको सचिवालय र पार्टीका प्रवक्ता महराबाट आएको विज्ञप्तिले रिसले आगो भएका ओलीलाई पार्टीकै वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री श्रेष्ठको ट्‍‍विटले झन् आगो बनायो। गृहमन्त्री श्रेष्ठले गत बुधबार लामो समयपछि लगातार ३ ट्‍‍विटमा एमालेलाई सामन्ती शोषकको संज्ञा दिएका थिए। खुलेरै एमालेको बारेमा नलेखेका गृहमन्त्री श्रेष्ठले संसद् चल्न नदिएर मिटरब्याजी पीडितविरूद्ध अध्यादेश निष्कृय पारेको भन्दै उनले पीडितलाई न्याय दिने अभियानलाई असफल पारिएको र पीडक वा तिनका पक्षधरहरूले सोचेका छन् भने त्यो ठूलो भ्रम हुने बताएका थिए। उनले संसद् अवरोध हुँदा पीडित जनताको पक्षमा को छ र को विपक्षमा छ भन्ने स्पष्ट भएकोसमेत बताएका थिए। गृहमन्त्री श्रेष्ठको यो ट्‍‍विटले ओलीको रिसमा ध्यु थप्ने काम गरेको एमाले नेताहरूले टिप्पणी गरेका छन्।