Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि कैलालीको धनगढी पुगेका छन्। उनले बिहीबारदेखि पाँचबुँदे माग अघि सार्दै आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्।
डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा बसेर सत्याग्रह सुरु गर्ने तयारीमा छन्।
दार्चुलाबाट जारी गरेको विज्ञप्तिमा उनले सरकारले आफ्ना मागप्रति कुनै संवेदनशीलता नदेखाएको र साउन ५ गतेसम्म दिएको समयसीमासमेत बेवास्ता गरेपछि पुनः आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि उनले दिएका छन्।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा गैरनाफामूलक सार्वजनिक सेवाका रूपमा सञ्चालन गर्न तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
उनले मापदण्डविपरीत निजी मेडिकल कलेजमा सशुल्क सिट थप्ने, छात्रवृत्ति घटाउने तथा स्वार्थ बाझिने व्यक्तिलाई चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्ने प्रयासको विरोध गरेका छन्।
गेटास्थित शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएको नियुक्तिप्रति पनि उनले आपत्ति जनाएका छन्। विश्वविद्यालयलाई राजनीतिक तथा व्यापारिक स्वार्थको केन्द्र बनाउन खोजिएको आरोप लगाउँदै विवादित नियुक्ति तत्काल खारेज गर्नुपर्ने उनको माग छ।
यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू विश्वविद्यालय सञ्चालनको विरोधमा नभई त्यसको शीघ्र सञ्चालन र सुदृढीकरणको पक्षमा रहेको स्पष्ट पारेका थिए।
डा. केसीले अघि सारेका पाँचबुँदे मागमा दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादित नियुक्ति खारेज, निजी मेडिकल कलेजमा सिट वृद्धि र छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय फिर्ता, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार, तथा हत्या, आगजनी, लुटपाट र भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने विषय समावेश छन्।
सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको र चिकित्सा शिक्षा सुधारका सवालमा सरकार उदासीन बनेको आरोप लगाउँदै डा. केसीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
२०८३ श्रावण ७
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल