Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि माओवादीको बन्दसत्र आजदेखि

काठमाडौं। विभिन्न आरोह अवरोध पार गर्दै आएको नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज सुरु हुने भएको छ। माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो। उद्घाटनसत्र सकिएसँगै आजबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ। नेता जनार्दन शर्माका अनुसार आज विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्।
१६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन्। माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ। राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र) ले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गरेपछि सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको हो।
पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रावधान छ। वि सं २०७३ मा तत्कालीन नेकपा (एमाले)सँग एकता भएकाले महाधिवेशनलगायत नियमित प्रक्रिया अगाडि बढेको थिएन । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टाछट्टै दलका रूपमा विभक्त भएका थिए। गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो। माओवादीको विधानअनुसार सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। पाँच दिनसम्म चल्ने महाधिवेशनमा शान्ति प्रक्रियायताको माओवादीबारे आत्मसमीक्षा हुने नेताहरूले बताएका छन् । माओवादीले महाधिवेशनबाट क्रान्तिकारी नयाँ विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने दाबी गरेको छ।
१३ पुससम्म चल्ने भनिएको सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय माओवादीले गरिसकेको छ। देव गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले उपाध्यक्षसहितका पदमा दुई वा सोभन्दा बढी नेता चयन गर्ने प्रस्तावसमेत गरेको छ। गुरुङको कमिटीले हाल कायम रहेको १७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान प्रस्ताव गरेको छ। २९९ केन्द्रीय कमिटी हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाएको जनाइएको छ। यो विधान आइतबार सम्मेलनबाट पारित गरिने भएको छ। माओवादीले विधान संशोधन गरेसँगै पदाधिकारी चयन पनि पेचिलो बन्ने देखिन्छ।
मूल नेतृत्वमा करिब ३० वर्षदेखि रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प देखिएको छैन। यसकारण अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित छ। अन्य पदाधिकारीका लागि भने आकांक्षीहरूको सूची लामै छ। स्थायी कमिटीमा रहनुभएका जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेललगायतले महासचिव पदमा दाबी गरेका छन्। उपाध्यक्षका लागि दाबी गरेका कृष्णबहादुर महरा, देव गुरुङ, देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायत नेताहरूको व्यवस्थापन पनि प्रचण्डका लागि सजिलो छैन।