Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजैबाट भारतीय विदेशसचिवलाई भ्याइ नभ्याई

काठमाडौं । छिमेकी पाहुनाको ओहोर दोहोर बढेको छ । कहिले उत्तरी पाहुना त कहिले दक्षिणी पाहुना आउने जाने क्रम जारी नै छ । सात समुद्र पारीको अमरिकी पाहुनाले पनि धेरै भयो हाम्रो भूमिमा बाक्लै पाइला राख्न थालेको । भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा आज काठमाडौँ आइपुग्ने भएका हुन्। भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान ९ बजे काठमाडौँ उत्रने कार्यक्रम छ। विमानस्थलमा उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। बिहान ११ बजे होटल याक एन्ड यतिमा हुने भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ। नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन। तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो। त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ।
भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै गर्ने भारत भ्रमणबारे पनि कुराकानी हुने बताइएको छ। प्रचण्डलाई उनले नेपाल भ्रमणको निम्ता दिने बताइएको छ। क्वात्राले आजै परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले दिउँसो प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ। क्वात्राले नेपाल रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग पनि भेट्नेछन्।
राष्ट्रपति निर्वाचनको मुखमै छिमेकी भारतका विदेश सचिवले यहाँका नेतासँग कुराकानी गर्न लागेका हुन्। नेपालमा अमेरिकालगायत पश्चिमा देशले पछिल्लो समय बढाएको सक्रियताप्रति भारत सशंकित छ। दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो। त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि सोमबार नै नेपाल आउने क्रममा छिन्। क्वात्रा आएकै दिन अमेरिकी उच्च अधिकारी उत्रनेछिन्। परराष्ट्र मन्त्रालयले क्वात्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भनेको छ। ‘यो भ्रमण दुई मित्रवत् छिमेकीबीच हुने नियमित भ्रमणकै निरन्तरता हो’ परराष्ट्र मन्त्रालयले भनेको छ। नेपाल र भारतले शुक्रबार भ्रमणको संयुक्त घोषणा गरेका थिए। विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो। ‘दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ,’ भारतीय विदेस मन्त्रालयले विज्ञप्तिमा भनेको थियो। भ्रमण सकेर भारतीय विदेशसचिव मंगलबार स्वदेश फर्किनेछन्।