Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजै मुख्यमन्त्रीको शपथ लिँदै राजेन्द्र पाण्डे

काठमाडौं । एमाले विभाजनको असरस्वरुप बागमती प्रदेश सरकारको नेतृत्वबाट अष्टलक्ष्मी शाक्य हटेर नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने भएका छन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानसँगै गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एस) का गरी कुल ५९ सांसद हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र बुझाइसकेका छन् । सत्तारुढ एमालेले भने सरकार गठनका लागि दाबी नगर्ने भएको छ । जसका कारण पाण्डेको सत्तारोहण सहज हुने देखिएको छ । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको छ । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले सपथ लिने बुझिएको छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् । वाग्मती प्रदेशमा सत्तारुढ नेकपा एमाले विभाजन भएर १३ सांसदले नवगठित नेकपा एस रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बहिर्गमन भएकी हुन् ।