Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने भएको छ। बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ।
बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाबारे अध्यक्ष ओलीले जवाफ दिने कार्यसूची रहेको छ। त्यसअघि बोल्न बाँकी रहेका नेताहरूले आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व शैली र आगामी दिशाबारे आफ्ना विचार राखिरहेका छन्। शुक्रबार र शनिबार धारणा राख्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरणको विषयमा समेत सुझाव दिएका थिए।
यद्यपि, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले ओलीको पक्षमा उभिँदै कठिन परिस्थितिमा नेतृत्वलाई कमजोर बनाउन नहुने धारणा राखेका थिए।
स्रोतका अनुसार शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टी अहिलेको अवस्थाबाट अगाडि बढ्न कठिन रहेको संकेत गर्दै आफ्नो धारणा राखेका थिए। उनले प्रत्यक्ष रूपमा ओलीको समर्थन नगरेको बताइएको छ।
शनिबार महासचिव पोखरेलसँगै उपमहासचिव योगेश भट्टराई र रघुवीर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेलले पनि नेतृत्वबारे आलोचनात्मक धारणा व्यक्त गरेका थिए। यसअघि शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले समेत ओलीको कार्यशैलीप्रति प्रश्न उठाएका थिए।
उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा देखिएका छन्।
आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले आफ्नो धारणा राख्ने कार्यक्रम छ। त्यसपछि सबै सदस्यको भनाइ सकिएसँगै अध्यक्ष ओलीले समग्र छलफलमाथि आफ्नो जवाफ प्रस्तुत गर्नेछन्।
स्रोतका अनुसार अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याए पनि अध्यक्ष ओली त्यसमा सहमत नभएको बताइएको छ। आजको जवाफलाई एमालेभित्र चलिरहेको नेतृत्व बहसको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल