Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कता कता दर्किन्छ झरी

काठमाडौँ । आज पनि लगातारको झरी नउघ्रने भएको छ । ‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ । तथापि त्यसबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरो गएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं। १० राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको घर जोखिममा परेको छ ।
तीन दिनदेखि वर्षा भइरहेकाले दुवै घर जोखिममा रहेको स्थानीय बताए । लगातार वर्षा भइरहेकाले खोला तथा खहरेमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपिल गरिएको छ । निरन्तरको वर्षाले पानीको सतह बढ्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो । नवलपरासी पूर्व र पश्चिमका क्षेत्रमा निरन्तर बर्षा भइरहेको र यो क्रम शनिबारसम्म रहन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
नवलपरासीपूर्व कावासोती नगरपालिका(१६ डण्डामा रहेको नेपाल बाढी सूचना केन्द्रले नवलपरासी पूर्वको डण्डा कावासोती, देवचुलीलगायतका ठाउँहरु तथा नवलपरासी पश्चिमको बर्दघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्क रहन अनुरोध गरेको छ । बर्दघाटमा रहेको बर्षा मापन केन्द्रले शुक्रबार दिउँसो १ सय ९ मिलिमिटर नाघेको जनाएको छ । लगातारको वर्षाले नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा पुगेको पनि जल मापन केन्द्रले जनाएको छ ।