Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभियान नै बनेको विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ । महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन भएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए । उद्घाटनपछिको बन्दसत्र पनि भृकुटीमण्डपको सभाहलमै हुने बताइएको छ । बन्द सत्रमा प्रतिनिधिहरुले नेपाली कांग्रेसको नेतृत्व नै बदल्ने गरी महामन्त्री थापा र शर्मालाई दबाबसम्म दिने अवस्था छ । देशभरबाट आएका बहुमत प्रतिनिधिले नेतृत्व नै परिवर्तनको मुद्दा उठाएका छन् । तर यतिखेर नेतृत्व परिवर्तन पार्टी विभाजनकै सुरुवात हुने भएकाले संकल्प प्रस्ताव पारित गरेर विशेष महाधिवेशन समापन गर्ने योजनामा महामन्त्रीद्वय देखिएका छन् । विशेष महाधिवेशन संस्थापन पक्षका लागि पेचिलो दबाबका रुपमा प्रस्तुत हुने देखिएको छ । महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ । उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिई आउन अनुरोध गरेका छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल