Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ । यमराजको दूतका रूपमा मानिने कागलाई बिहानै पूजा आराधना गरी मीठा खानेकुरा दिएर यो पर्व मनाउने धार्मिक परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत् रूपमा शनिबार काग तिहार मनाउने निर्णय गरिएको हो ।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने चलन छ । कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने कामनासहित आजका दिन कागलाई मीठा खानेकुरा अर्पण गरी खुसी पार्ने गरिन्छ ।
लोकपरम्परामा काग घरको आँगन वा वरपर आएर कराएमा केही खबर लिएर आएको विश्वास गरिन्छ । त्यसैले काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलनसमेत रहेको छ ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ ।
तिहार पर्व यमराजको धार्मिक मान्यतासँग पनि जोडिएको छ । दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई रक्षा गर्ने यमराजको विश्वासअनुसार यम यातनाबाट मुक्ति प्राप्त गर्ने कामनासहित परिवारका सदस्यका नाममा यमदीपदान गर्ने परम्परा छ । यस वर्ष यमदीपदान शुक्रबार साँझदेखि नै सुरु भएको छ । वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर दान गर्ने गरिन्छ ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो । यसैक्रममा धनधान्य र समृद्धिकी देवी लक्ष्मीलाई घरमा स्थिर गराउने विश्वासका साथ मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ । धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको वास हुने धार्मिक विश्वास छ ।
२०८३ कार्तिक २२
ताजा नेपाल
२०८३ कार्तिक २२
ताजा नेपाल
२०८३ कार्तिक २२
ताजा नेपाल