Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । पटक पटक स्थगित हुदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आइतबार बस्ने भएको छ । अपरान्ह ४ बजेपछि बस्ने बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक हेमोडायलसिस गरेर फर्केपछि बस्न लागेको बैठकका एजेण्डाबारे सचिवालय सदस्यहरु भने अझै अनविज्ञ छन् । शनिबार तेस्रो पटक डायलासिस गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली आराम गरिरहेका छन् । यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेकपाको उच्च नेताहरुसँग पार्टी र सरकारको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल गरे पनि ठोस निर्णय हुन सकेको थिएन ।
पुनः मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका ओली कम्तीमा तीनदेखि पाँच महिना आराममा बस्नुपर्ने भएकाले त्यसअघि पार्टी तथा सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने सोचमा छन् । त्यसका लागि नेताहरुसँग प्रारम्भिक छलफल गरे पनि सचिवालय बैठकमार्फत सहमति गराएर मात्रै सार्वजनिक गर्ने ओलीको तयारी छ ।
ओलीले पार्टी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई र कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ । यसअघि गत भदौ ५ मा ओली सिङ्गापुर जानुअघि बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।
त्यस्तै स्थायी समिति बैठक बस्न नसक्दा उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमको पद पनि अनुमोदन भएको छैन । आफ्नो सचिवालयका सदस्यहरु हेरफेर गरेको प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर रहेका मन्त्रिपरिषदका केही सदस्य पनि हेरफेर गर्ने तयारी गरेका छन् ।