Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको बहस हुँदै छ । ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधवार रूपन्देही जिल्ला अदालतमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो । बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् । बुधवारदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश भएकाले उनी हिरासत बाहिरै बसेका छन् । लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाएको भन्दै सरकारी वकिलले वहसमा प्रश्न उठाएका छन् । यसअघि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा भने काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस चल्दा पनि उनलाई हिरासतमै राखिएको थियो । ती दुवै अदालतमा उनले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए । रूपन्देही अदालतले भने उनको मागअनुसारै अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको हो । यो मुद्दाको बहसमा सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेलसहित ८ जनाले बहस गरेका छन् भने सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका छन् । त्यसैगरी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, सहितका ३ जनाले बहस गरेका थिए । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायणदत्त कंडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् । प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ । पूरक अभियोग पत्रमा जीबी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ । विज्ञान राई, नरेश जीसी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारी पनि प्रतिवादी छन् । उनीहरूमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ पहिले नै पक्राउ परेर पुर्पक्षा लागि कारागारमा छन् । कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । दुवै अदालतले ‘कसुदार छैनन् भन्ने अवस्था नदेखिएको’ भन्दै उनीसँग धरौटी माग गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ ।
२०८१ माघ १४
ताजा नेपाल
२०८१ माघ १४
ताजा नेपाल
२०८१ माघ १३
ताजा नेपाल