Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज भारी वर्षाको सम्भावना

सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं । आइतबार देशैभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) खासगरी मध्य र पश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । यो क्रम मंगलबारसम्मै जारी रहने बताइएको छ ।
अहिले पनि देशका केही स्थानमा पानी परिरहेको छ । पश्चिम पोखरा, सुर्खेतलगयात, मध्य काठमाडौंलगायत तथा पूर्व धनकुटालगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका मध्य र पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली तथा पूर्वी भेगमा आंशिकदेखि सामान्यसम्म बदली हुने देखिएको छ । पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । पश्चिमी र मध्य भूभागका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ । यस्तै उच्च हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
बिहीबार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन सक्रिय बन्दै गएपछि वर्षा सुरु भएको हो । मनसुनी प्रणाली पूर्वबाट मध्य हुँदै पश्चिमसम्म फैलने क्रममा छ ।
बाढी पूर्वानुमान महाशाखाले नारायणी, पश्चिम राप्ती, बबई र कर्णाली जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावनाले उक्त जलाधार क्षेत्रमा बहाव उल्लेख्य बढ्ने अनुमान गरेको छ । तर उक्त नदीहरूमा सतर्कता तथा खतरा तह पार गर्ने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र ५ नम्बर प्रदेशका पहाडी तथा चुरे क्षेरका ससाना खोलानालाहररूमा भने तीव्र बहावको सम्भावना छ । पहिरोग्रस्त क्षेत्रहरूमा लेदोसहित आकस्मिक बहावको सम्भावनासमेत रहेको महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।


सम्बन्धित समाचार