Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आठ महिनादेखिको प्रेम प्रस्ताव अस्वीकार गरेपछि ढुकेर हत्या

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो। बुढानिलकण्ठ उच्च माविमा १२ कक्षामा अध्ययनरत् १८ वर्षीया सुष्मा लामाको शव प्रहरीले गत फागुन २४ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा जंगलमा फेला पारेको थियो। उनको शव स्कुल ड्रेसमै फेला परेको थियो। उनको शव सडेगलेको अवस्थामा फेला परेको थियो। हातमा पेटीले बाँधेको र घाँटीमा जुत्ताको तुनाले कसेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। सोही घटनाको अनुसन्धानका गर्दा छिमेकी युवकले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए। पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएका थिए। पटक(पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए। अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताब( कापी पनि बरामद गरेको छ। घिमिरेका अनुसार लामाले सुष्मालाई आठ महिनादेखि प्रेम प्रस्ताव राखिरहेका थिए। उनीहरूबीच भेटघाट चाहिँ बाख्रा चराउन र घाँस काट्न गएको बेला हुने गरेको थियो। उनले निरन्तर प्रेम प्रस्ताव राखिरहेका थिए, तर सुष्माले अस्वीकार गरिरहिन्, घिमिरेले भने। तर, उनीहरूबीच फोन र सामाजिक सञ्जालमा भने सम्पर्क थिएन। सधैं प्रेम प्रस्ताव राख्दा इन्कार गरेपछि लामा सुष्माको हत्या योजना बनाउँछन्, घिमिरेले भने। अन्तिमपटक प्रेम प्रस्ताव राख्ने र त्यो नमाने हत्या गर्ने मनसायले लामाले सुष्मालाई आठ दिनसम्म बाटो कुरिरहेका हुन्छन्। यो आठ दिनबीच सुष्मा एक्लै स्कुल नगएको, साथीहरूसँग गएको देखेपछि लामाको योजना असफल भइरहेको थियो, घिमिरेले भने। तर, घटना भएको दिन सुष्मा एक्लै स्कुल गएको लामाले फेला पारे। उनले प्रेम प्रस्ताव राखे। सुष्माले भनिन् म प्रेम स्रेम गर्दिनँ। म विदेश जान्छू। अन्तिम पटकको प्रयास असफल भएपछि लामाले सुष्मालाई घाँटीमा अठ्याएर १० मिटर तल जंगलमा लगे। उनले चार दिनदेखि हातमा कुटो बोकेर बसिरहेका थिए। उनले नमाने मार्ने नियतले खाल्डो खन्न कुटो लिएर बसिरहेका थिए। जुत्ताको तुनाले घाँटी कसेर मारेपछि उनले त्यही कुटोले खाल्डो खनेर सुष्माको शव गाडेका थिए, घिमिरेले भने।