Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीका परिवार र समर्थकहरूले सरकारसमक्ष ६ बुँदे माग प्रस्तुत गरेका छन्। मुगुबासी स्थानीय तथा राइड सेयरिङ समुदायको संयुक्त भेलाले मागपत्र सार्वजनिक गर्दै सरकारसँग वार्ताका लागि सात सदस्यीय समिति पनि गठन गरेको हो।
पीडित पक्षले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही गर्न तथा घटनाको निष्पक्ष छानबिनका लागि शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
यस्तै, गणेश नेपालीलाई ‘नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद’ घोषणा गर्न, परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारका सदस्यको रोजगारी, छोराछोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च र पालनपोषणको जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि अघि सारिएको छ।
भेलाले नेपालमा सञ्चालनमा रहेका स्वदेशी तथा विदेशी राइड सेयरिङ एपलाई नियमन गर्ने स्पष्ट कानुन निर्माण गर्न तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का सम्बन्धित महासन्धिहरू कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरेको छ।
त्यसैगरी, त्रिपुरेश्वरस्थित गणेश नेपालीले आत्मदाह प्रयास गरेको स्थानलाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने मागसमेत गरिएको छ।
सरकारसँग वार्ता र आवश्यक समन्वयका लागि भक्त रावतको नेतृत्वमा धर्मराज शाही, मनोज नेपाली, प्रबल चौलागाईं, नवराज न्यौपाने, आशिष देवकोटा र पदम नेपाली सदस्य रहेको सात सदस्यीय वार्ता समिति गठन गरिएको भेलाले जनाएको छ।
२०८३ असार २८
ताजा नेपाल
२०८३ असार २८
ताजा नेपाल
२०८३ असार २८
ताजा नेपाल