Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आइतबार बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उहाँले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गरे । अध्यक्ष ढकालले अब नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा नेपालका घरेलु पुँजी परिचालन गरेर ठूला आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि सबै व्यवसायी सहभागी हुने गरी रु १० अर्बको लगानीमा नेपाल डेभेलपमेन्ट कम्पनी सञ्चालनमा ल्याएको बताए। जसबाट नेपालमा आफ्नै पुँजी परिचालन गरेर धेरै काम गर्न सकिने आत्मविश्वास बढाउने काममा टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे । नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गरेको अवस्थामा उद्योग वाणिज्य महासङ्घको पहलमा यसखालको काम अगाडि बढाइएको छ, कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय अगाडि बढाउन खोजेको अवस्थामा पैसाको आवश्यक पर्दा उक्त कम्पनीले लगानी गरिदिन्छ, उनले भने । त्यस अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो व्यवसायहरु जलिरहेको अवस्थामा व्यवसायीहरु पीडा बोकेर हिँड्नुपरेको अवस्था दुःखद् भएको बताए । काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रताप वैद्यले जिल्लाको व्यापारिक नगरी बनेपा, पनौती, धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यावसायिक कठिनाइ भोगिरहनु परेको बताउँदै व्यावसायिक वातावरण बनाइ राख्नका लागि छुट्टै व्यावसायिक स्थान, कृषि क्षेत्र, औद्योगिक क्षेत्र निर्माण गर्न राज्यलाई आग्रह गरे । उनले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र सेज र मण्डनदेउपुरमा निर्माण भइरहेको औद्योगिक ग्रामलाई पर्याप्त बजेटको व्यवस्थापन गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई आग्रह गरे।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल