Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो क्षेत्रबाट समाज सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ

  • गीता पौडेल, बरिष्ठ सौन्दर्यकर्मी

एउटा चलचित्र सफल हुनको लागि पर्दा भित्र र बाहिर बिबिध बिद्यामा काम गर्नुपर्ने मध्य हेयरड्रसरको पनि आफ्नै किसिमको महत्वपुर्ण भुमिका हुन्छ । पात्रको भुमिका अनुसारको गेटअप भएन भने त्यो पात्रको भुमिका जतिसुकै दमदार किन नहोस फिक्का लाग्न सक्छ । त्यसैले पनि चलचित्रमा हेयर ड्रेसरको महत्व बढेको हो । चलचित्रको पर्दा बाहिर रहेर अहोरात्र आफ्नो पेशामा सकृय रूपले लागिपर्दै आइरहनु भएकी हेयर ड्रेसर गीता पौडेल नेपाल चलचित्र प्राबिधिक सङ्घकी कोषाध्यक्ष हुन् । यही पेशालाई नै रोजेर आफ्नो क्षमता, ईच्छा, लक्ष्यलाई यसै माध्येमबाट पुरा गर्नुपर्छ भन्ने सोची यस क्षेत्रमा लागिपर्नु भएको पनि झण्डै डेढ दशक बितिसकेको छ । आफु कसैमा निर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने सोच बोक्नु भएकी बरिष्ठ हेयर ड्रेसर गीता पौडेलको सौन्दर्य, श्रृंगारको क्षेत्रमा छुट्टै स्थान बनिसकेको छ । फिल्म मेकअप स्टुडियो एण्ड ब्युटिहवकी सञ्चालिका समेत रहनु भएकी गीता पौडेलले मुगलान, मेरो एउटा साथी छ, भिजागल्र्स, तकदिर, साथी रे, छोडी गए पाप लाग्ला, राजु राजाराम, मैदान, मानिस, मृर्गत्रृष्णा, अग्निज्वाला, मेरो लभ स्टोरी, इन्द्रणी, कहाँ भेटिएला लगायत झण्डै आठ दर्जन चलचित्रमा हेयर ड्रेसरको रूपमा काम गरिसक्नु भएकी पौडेलको पछिल्लो चलचित्र हेल्लो जीन्दगी आगामी चैत्र ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । हेयर ड्रेसरसंगै मेकअप आर्टिष्टको समेत जिम्मेवारी वहन गर्दै आउनु भएकी बरिष्ठ हेयर ड्रेसर गीताको नामबाट चलचित्र क्षेत्रमा परिचित भएपनि उहाँको वास्तबिक नाम सुष्मा पौडेल हो । ‘सिंहदरबार एक’ सिरिजको सफलताको कार्यक्रममा प्रमाणपत्र, दक्ष कला सम्मान २०२२ लगायत बिभिन्न अवार्ड र सम्मानहरूबाट सम्मानित कुशल हेयर ड्रेसर गीता पौडेलले ताजाखबर साप्ताहिकका लागि गर्नु भएको कुराकानीः

० यतिबेला केमा ब्यस्त हुनुहुन्छ ?
– कोभिडका कारण दुईवर्ष चलचित्रको काम हुन सकेन । मेरो आफ्नै पार्लर पनि भएकोले त्यतातिर सक्रिय हुनुपर्ने भयो । बिस्तारै चलचित्रको काम सुरु हुन थालेकोले अव चलचित्रको काममा ब्यस्तु हुन्छु ।

० आफुले गर्दै आएको काम कत्तिको सजिलो लाग्छ ?
– मैले हेर्दा अरुको काम सजिलो, अरुले हेर्दा मेरो काम सजिलो जस्तो लागेपनि काम कुनै पनि सजिलो भने हुँदैन ।

० चलचित्र प्राबिधिक सङ्घको जिम्मेवारी के हो ?
– सङ्घले आफ्ना सदस्यहरूको दीर्घकालीन सुबिधाको लागि सम्बन्धि निकायमा पहलकदमी गर्नुका साथै बिबिध कारणले अप्ठेरोमा परेका सदस्यहरूलाई आर्थिक, खाद्यान्न लगायतका सहयोग उपलब्ध गराउदै आईरहेको छ । कोभिडका कारण दुःखमा पर्नुभएका प्राबिधिकहरूको घरघरमा पुगेर राहत बितरण गर्ने कार्य गरौं । कोभिडका कारण हुन नसकिरहेको नेफ्टा अवार्ड केही समय पहिले राजधानीमा सम्पन्न गरेका छौं ।

० सङ्घको गतिबिधि, चलचित्र र पार्लरमा पनि त्यतिकै सकृय हुनुहुन्छ, समय तालिका कसरी मिलाई रहनु भएको छ ?
– जहाँ ईच्छा त्यहाँ उपाय भने जस्तै मानिसलाई ईच्छा लाग्यो र चाहना छ भने समय कहिलै बाधक बन्दैन । ब्युटीपार्लरमा काम पनि गरिरहेको छु, आर्थिक अवस्था कमजेर भएका दिदी, बहिनीहरूलाई प्रशिक्षण पनि दिदै आईरहेको छु । हातमा कुनै सिप नभएर बेरोजगार बसेकाहरूलाई केही सिप सिकाउन सकियो भने भोलिका दिनमा यहीे पेशाबाटै आत्मनिर्भर हुन्छन् भन्ने तिर पनि साेंच बनाएर काम गरिरहेको छु । आफ्नो क्षेत्रबाट समाज सेवा गर्न पाउँदा आत्मसन्तुष्टी मिल्छ ।

० तपाई ब्युटिपार्लर पनि सञ्चालन गर्दै आइरहनु भएकोले अहिले सौन्दर्य ब्यवसायको अवस्था कस्तो छ ?
– कोभिडले अन्य ब्यवसायलाई जस्तै सौन्दर्य ब्यवसायलाई पनि प्रभाव पारेको भएपनि अहिले यो ब्यवसायमा प्रतिस्पर्धाको अवस्था छ । बिगतको दाँजोमा पार्लर खुल्ने क्रम पनि बढेको छ । पार्लरको संख्यासंगै ब्युटीशियन र प्रयोगकर्ता पनि उतिकै बढिरहेको छ । म चाही चलचित्र र पार्लर दुबैमा कामगर्ने भएकोले राम्रो छ ।

० गर्मी मौसम सुरु भयो, यो अवस्थामा कस्तो मेकअप सामग्री प्रयोग गर्दा राम्रो हुन्छ ?
– कतिपय मानिसले जाडो र गर्मीमा एकै प्रकृतिको मेकअप सामग्री प्रयोग गर्छन् । तर, यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा भएको हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोस्चराइजरको बढी प्रयोग गर्नुपर्ने हुन्छ । गर्मीमा चाहिँ मोस्चराइजरको प्रयोग गरिँदैन । बरु स्किन टोनर प्रयोग गर्नुपर्छ । जाडो र गर्मी मौसमकै लागि भनेर छुट्टाछुट्टै खालका प्रडक्ट खरिद गर्न सकिन्छ । बजारमा बिभिन्न खालका प्रडक्ट पाइन्छ गुणस्तरको प्रडक्ट कुन हो पहिचान हुनु जरुरी छ । कमसल प्रडक्टले स्क्रिनमा असर गर्नसक्छ ।

० कस्तो खालको प्रयोगकर्ता बढी आउछन् ?
– बिशेषतः ब्युटिपार्लरमा आउनु हुने दिदी बहिनीहरू अनुहारको श्रृंगारको लागि आउनु हुन्छ ।

० चलचित्र र ब्युटिपार्लरमा काम गर्नुको भिन्नता के पाउनु हुन्छ ?
– चलचित्रमा पात्र अनुसारको श्रृंगार गर्नुपर्छ भने पार्लरमा ब्यक्तिको चाहना अनुसारको ।

० आफ्नो पेशाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– डेढ दशको यो यात्रा र अनुभलबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ । काम कुनै पनि नराम्रो हँुदैन । हातमा सिप छ र काम गर्ने इच्छाशक्ति छ भने अरुको आस र भोकै बस्नु पर्दैन भन्ने कुरा बुझिराख्नु पर्छ । त्यसैले म यो पेशाबाट सन्तुष्ट छु ।