Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेनजी आन्दोलनका क्रममा भएका गल्तीप्रति व्यक्तिगत रूपमा माफी मागेका छन्। संविधान दिवसका अवसरमा आज असोज ३ गते पार्टी र पद उल्लेख नगरिएको वक्तव्य जारी गर्दै एमालेले गरेका निर्णय र कामले निम्त्याएका परिणामका लागि व्यक्तिगत रूपमा क्षमा याचना गरेका हुन्। जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्। तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ, पौडेलले वक्तव्यमा भनेका छन्, विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ। व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु। यसैगरी उनले अब पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने अपेक्षा पनि गरेका छन्। निवर्तमान अर्थमन्त्री पौडेलले लेखेका छन्, अब हाम्रोसामु जनतासँग विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु। आफ्नो आधिकारिक फेसबुकमार्फत पौडेलले सार्वजनिक गरेको वक्तव्यको पूर्णपाठ यस्तो छ–
संविधान दिवसको शुभकामना
जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरूमा समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्रिपरिषद्बाट शान्ति र अमनचैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाहरूको पुनर्निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्नेजस्ता महत्त्वपूर्ण अभिभारा पूरा हुन सकून् भन्ने अपेक्षा गर्दछ।
जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानुनबमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु।
जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्। तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ।
विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ। व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु।
अब हाम्रोसामु जनतासँग विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु।
आज असौज ३ गते, संविधान दिवसको ऐतिहासिक दिन। विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकौँ। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकौँ। सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
विष्णुप्रसाद पौडेल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल