Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरोपितलाई छुटाउन झण्डा हल्लाउदै जाने मन्त्रीलाइ पदमा बस्ने अधिकार छैन् : विवेकशील साझा पार्टी

१० असार, काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् ।
जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार आफैं प्रहरीको सिंहदरबार वृत्त पुगेका थिए ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी मन्त्री श्रेष्ठले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन’ उनले भने ।
जातीय विभेदसँग जोडिएको घटनाको गाम्भीर्यता मनन गर्न नसकेको र राज्यशक्तिको दुरुपयोग गरेको भन्दै विवेकशील साझाले मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भएको बताएका छन् ।
काठमाडौंमा घर भाडामा लिने दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

 


सम्बन्धित समाचार