Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इजरायलले २३ सय नेपाली कामदार लैजाने

काठमाडौं । नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा २ हजार ३ सय नेपाली कामदार लैजाने गरी वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ । कुल माग सङ्ख्यामध्ये ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला कामदारका लागि कोटा निर्धारण गरिएको छ । योग्य नेपाली नागरिकले विभागको अनलाइन वेब पोर्टलबाट आवेदन दिन सक्नेछन् । अनलाइन दरखास्त पेस गर्ने प्रक्रिया आगामी २०८३ जेठ १७ गते राति १२ बजेदेखि सुरु भई २०८३ असार ७ गते राती १२ बजेसम्म खुला रहने विभागले जनाएको छ । सरकारी प्रक्रिया मार्फत इजरायल जान इच्छुक उम्मेदवारहरूका लागि निश्चित योग्यता तथा मापदण्डहरू तोकिएका छन् । आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । शारीरिक रूपमा कम्तीमा १।५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा न्यूनतम १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । आवेदकले विगतमा इजरायल गई काम नगरेको र निजको बुबा, आमा, पति, पत्नी वा छोराछोरी हाल इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ । आवेदकको पासपोर्टको म्याद पनि प्रवेशाज्ञा प्रक्रिया सुरु हुँदा कम्तीमा ३ वर्ष बाँकी रहेको हुनुपर्नेछ । कामदारको शारीरिक र मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्ने र क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया वा एड्स जस्ता कुनै पनि जीर्ण रोगबाट ग्रसित नभएको तथा गह्रौँ सामान उचाल्न सक्ने सामर्थ्य भएको हुनुपर्ने पूर्वसर्त रहेको छ । अंग्रेजी भाषाको हकमा विशेष मापदण्ड तोकिएको छ । आवेदकले तोकिएको संस्थाबाट लिइएको क्याम्ब्रिज अपस्किल अंग्रेजी टेस्ट उत्तीर्ण गरेको हुनुपर्नेछ । फाराम भर्दा वैध प्रहरी चारित्रिक प्रमाणपत्र, पासपोर्टको स्क्यान कपी, उचाइ र तौल खुलाइएको स्व(घोषणा फाराम र गोपनीयताको मञ्जुरीनामा फाराम समेत अनलाइन प्रणालीमा अपलोड गर्नुपर्ने छ । छनोट भएका सहायक कामदारहरूले इजरायलका स्याहार केन्द्रहरूमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको हेरचाह, सरसफाइ र पोषण सम्बन्धी कार्य गर्नुपर्नेछ । यस पदका लागि मासिक तलब ६,४४३.८५ इजरायली मुद्रा (नेपाली २ लाख ५० हजारभन्दा धेरै) हुने छ । हप्तामा ६ दिन र प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ । यसमा नियमानुसार ओभर टाइमको सुविधा समेत रहनेछ । सुरुमा १ वर्षको करार अवधि रहने र यसलाई बढाएर अधिकतम ५ वर्षसम्म थप गर्न सकिने सुविधा रहेको छ । कामदारको मासिक पारिश्रमिकबाट आवास, खाना, स्वास्थ्य बिमा र करबापतको रकम इजरायली कानुन बमोजिम कट्टा हुनेछ । भने रोजगारदाताले कामदारको नाममा मासिक पारिश्रमिकको १२।५ प्रतिशत रकम विदेशी कामदार कोषमा जम्मा गरिदिने व्यवस्था रहेको छ । यो कोषको रकम करार अवधि समाप्त हुनासाथ इजरायल छोड्ने बेला कामदारले फिर्ता पाउनेछन् । हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोष लगायतका अन्य पूर्व–प्रस्थान खर्चहरू भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।


सम्बन्धित समाचार

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

२०८३ जेष्ठ १३

ताजा नेपाल

वाइसिएल बोलेपछि हर्क थचक्कै

२०८३ जेष्ठ १३

ताजा नेपाल

वंशवादमा रमाउने काँग्रेसमा तमासा

२०८३ जेष्ठ १३

ताजा नेपाल