Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्काउन्टर भन्दै मारिए पौडेल

काठमाडौं । नेकपा विप्लव समूहका जिल्ला इञ्चार्ज ‘इन्काउन्टर’मा मारिएको प्रहरीले बताएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा भएको भनिएको ‘भिडन्त’मा उनको ज्यान गएको हो । नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तमा प्रहरीको गोली लागेर कुमार पौडेलको मृत्यु भएको हो । उनको साथबाट चन्दा उठाउन प्रयोग भएको व्यापारीहरुको विवरण भएको डायरी समेत बरामद भएको थियो । एमालेबाट राजनीतिमा चिनिएका पौडेल माओवादी, चुरेभावर हुँदै पछिल्लो समय विप्लव समूहमा सक्रिय थिए । विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रदेश नं. २ प्रहरी कार्यालयले गरेको आन्तरिक सुरक्षा विश्लेषणमा सर्लाहीको लालबन्दी नगरपालिकामा पर्ने चुरे जोडिएको ठाउँलाई यो समूहको बढी गतिविधि रहेको पाइएको थियो । सिन्धुलीको सिमाना पर्ने यो ठाउँमा विप्लवका नेता, कार्यकर्ता ओहोरदोहोर गरिरहने सूराकी समेत प्रहरीसँग थियो । प्रदेशको अनुसन्धान समूहका एक अधिकृतकाअनुसार दोस्रो संवेदनशील क्षेत्रमा रौतहटको माथिल्लो बेल्टलाई मानिएको थियो । नेकपा विप्लव समूहले भने प्रहरीले नियतवश ढुकेर गोली चलाएको दाबी गरेको छ । समूहका एक नेताले भने, सरकारले भिडन्तको नाम दिएर क्रुरतापूर्वक दमन गरेको छ, यसले सरकारको फासीवादी चरित्र प्रष्ट पारेको छ ।
प्रहरी स्रोतका अनुसार पछिल्ला वर्षमा भने स्थानीय तहहरुमा चन्दा आतंक मच्चाइएको थियो । पौडेलले स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग चन्दा माग्दै आएका थिए । साथै, राजीनामा दिन दबाब दिँदै जनकारबाहीको चेतावनी पनि दिएका थिए । २३ वैशाखमा बागमती नदी किनारमा राखिएको स्काभेटरमा समेत आगजनी गरिएको थियो । नदीमा गिट्टी वालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको स्काभेटरमा भएको आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले समेत पौडेलको योजनामा घटना गराएको बयान दिएका थिए । व्यवसायीले चन्दा नदिएपछि तर्साउन पौडेलले आगजनी गरेको हुनसक्ने प्रहरीले बताएको थियो । त्यसयता भूमिगत रहेका पौडेलले विभिन्न माध्यमबाट जिल्लाका व्यापारी र जनप्रतिनिधिबाट चन्दा उठाइरहेको दाबी गर्दै प्रदेश प्रहरीका एक अधिकृत भन्छन, स्थानीय व्यापारीबाट १० लाख रुपैयाँसम्म उठाइएको भेटिएको थियो ।