Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानमाथि तत्काल आक्रमण नगर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। यद्यपि, हर्मुज जलडमरूमध्यमा अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले बताएका छन्।

कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले इरानमाथिको थप सैन्य कारबाही केही समयका लागि स्थगित गर्ने बताएका हुन्।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकासँग अत्याधुनिक सैन्य उपकरण र हतियार रहेको उल्लेख गरे। यद्यपि, ती हतियार प्रयोग गर्नुपर्ने अवस्था नआउने आफूले विश्वास गरेको उनको भनाइ थियो।

ट्रम्पका अनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत खाडी क्षेत्रका मित्रराष्ट्रहरूले इरानमाथि थप आक्रमण नगर्न अमेरिकालाई आग्रह गरेका थिए। उनीहरूकै आग्रहमा तत्काल सैन्य कारबाही अघि नबढाउने निर्णय लिएको उनले बताए।

इरानसँगको युद्ध अन्त्यका लागि मध्यस्थता गर्दै आएको कतारका प्रधानमन्त्री अल थानी गत साता तेहरान पुगेका थिए। उनले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको छलफललाई सकारात्मक बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले सम्झौतामा पुग्न र क्षेत्रमा शान्ति कायम गर्न भएका सकारात्मक छलफलप्रति आभार व्यक्त गरेका छन्।

तर इरानले भने अमेरिकासँग वार्ता भइरहेको भन्ने समाचारको खण्डन गरेको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकाले काल्पनिक वार्ताबारे भ्रामक समाचार फैलाउन बन्द गर्नुपर्ने बताएका छन्।

उनले अमेरिकाले इरानले अघि सारेका सातवटा सर्त स्वीकार गर्नुपर्ने धारणा राखेका छन्। इरानको प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, केही प्रतिबन्ध फुकुवा गर्ने र इरानमाथिको बमबारी रोक्नुपर्ने सर्त छन्। त्यसको बदलामा इरानले हर्मुज जलडमरूमध्यमा लगाएको नाकाबन्दी हटाउने प्रस्ताव गरेको छ। आणविक कार्यक्रम तथा अन्य प्रतिबन्धबारे भने त्यसपछि छलफल गर्ने इरानको प्रस्ताव छ।

अमेरिकाले भने इरानको प्रस्ताव अस्वीकार गर्दै आएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले आइतबार इरानका सर्तलाई अव्यावहारिक र असम्भव भन्दै आलोचना गरेका थिए। यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आफ्नो देशको प्रस्ताव उपलब्ध विकल्पमध्ये सबैभन्दा उचित रहेको दाबी गरेका छन्।

गत साता भएको अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि इरान युद्ध अन्त्य गर्न ट्रम्पमाथि घरेलु राजनीतिक दबाब बढेको छ। अमेरिकी उपराष्ट्रपति भान्ससहित रिपब्लिकन नेताहरूले निर्वाचनमा पार्टीको पराजयको एउटा प्रमुख कारण इरान युद्ध रहेको बताएका छन्।

यद्यपि, अमेरिकी विदेशमन्त्री रुबिओले तत्काल कूटनीतिक सहमति हुनेमा आफू विश्वस्त नरहेको बताएका छन्। संयुक्त अरब इमिरेट्सका वरिष्ठ अधिकारी अनवर गर्गासले पनि अमेरिका र इरानबीच समग्र राजनीतिक सम्झौता हुन कठिन रहेको बताएका छन्। उनका अनुसार तत्काल निर्णायक समाधान ननिस्किए क्षेत्रीय स्थायित्वमा अनिश्चितता कायम रहन सक्छ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि युद्ध थप चर्किन नदिन आफ्नो देशले प्रयास गरिरहेको बताएका छन्। उनले ट्रम्पलाई टर्की युद्धको थप विस्तारको पक्षमा नरहेको जानकारी गराउँदै समस्याको समाधान संवाद र कूटनीतिक माध्यमबाट खोज्नुपर्नेमा जोड दिएको बताएका छन्।

इरानमा आक्रमण र खाडी क्षेत्रमा सैन्य तनाव कायमै

ट्रम्पले तत्काल थप आक्रमण नगर्ने घोषणा गरे पनि अमेरिका र इरानबीचको सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको छैन।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार राति अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको थियो। उक्त आक्रमणबाट महत्त्वपूर्ण पूर्वाधार तथा सेवा प्रभावित नभएको स्थानीय अधिकारीहरूले बताएका छन्। अमेरिकी सरकारले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

रोयटर्सका अनुसार एक वरिष्ठ इरानी अधिकारीले अमेरिकी आक्रमणमा हवाई प्रतिरक्षा प्रणाली, जहाजको आवागमन निगरानी गर्ने राडार प्रणाली तथा मिसाइल प्रक्षेपण र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने सैन्य अखडालाई निशाना बनाइएको बताएका छन्।

अर्कोतर्फ, खाडी क्षेत्र र हर्मुज जलडमरूमध्यमा तेल बोकेका जहाजमाथिका आक्रमण पनि जारी छन्। अन्तर्राष्ट्रिय समुद्री निकायहरूको तथ्यांकअनुसार अक्टोबरमा ट्यांकरमाथिका आक्रमण तीव्र भएका थिए। युद्ध सुरु भएयताकै उच्च दरमा भएका यस्ता आक्रमण त्यसयता पनि रोकिएका छैनन्।

इरानले आइतबार हर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा एउटा ट्यांकर समुद्री सुरुङमा ठोक्किएको जनाएको थियो। इरानी सरकारी टेलिभिजनका एक पत्रकारले पछिल्लो १० दिनमा ११ वटा ट्यांकर निष्क्रिय पारिएको दाबी गरेका छन्।

यसरी एकातिर युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका छन् भने अर्कोतिर समुद्री क्षेत्रमा आक्रमण र सैन्य तनाव जारी छ। ट्रम्पले तत्काल थप आक्रमण नगर्ने घोषणा गरे पनि अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता कहिले र कसरी हुन्छ भन्ने अझै स्पष्ट हुन सकेको छैन।


सम्बन्धित समाचार

मामाघर पुगेका ६ वर्षीय बालकको मृत्यु

२०८३ कार्तिक २५

ताजा नेपाल

लागुऔषधसहित १२ जना पक्राउ

२०८३ कार्तिक २५

ताजा नेपाल