Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलरभन्दा बढी पुगेको छ । युद्धमा प्रयोग भएका हतियारको भण्डार पुनः भर्न र नष्ट भएका सैन्य उपकरण प्रतिस्थापन गर्न मात्रै ३५ अर्ब डलरभन्दा बढी खर्च हुने अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को पछिल्लो अनुमान छ ।
समाचार संस्था रोयटर्सले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार युद्धको लागत गत जुलाईमा अनुमान गरिएको ३७ अर्ब ५० करोड डलरभन्दा २५ प्रतिशतभन्दा बढीले बढेको छ । युद्ध सञ्चालनमा भएको खर्चसँगै प्रयोग गरिएका हतियार र गुमाएका सैन्य उपकरण प्रतिस्थापनको लागतसमेत हिसाबमा समेटिएको छ ।
पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भएका क्षेप्यास्त्र र अन्य हतियार पुनः खरिद गर्न २९ अर्ब डलरभन्दा बढी आवश्यक पर्नेछ । त्यस्तै, युद्धमा गुमाएका विमान, ड्रोनलगायत सैन्य उपकरण प्रतिस्थापन गर्न थप ६ अर्ब डलरभन्दा बढी खर्च हुने देखिएको छ ।
यद्यपि, अमेरिकाको वास्तविक युद्ध खर्च अझै बढ्न सक्ने सम्भावना छ । इरानी मिसाइल र ड्रोन आक्रमणबाट अमेरिकी सैन्य अखडामा पुगेको क्षति मर्मत गर्न लाग्ने ठूलो रकम पेन्टागनको पछिल्लो अनुमानमा स्पष्ट रूपमा समेटिएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा इजरायलसँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरेका थिए । सुरुमा छोटो समयमै टुंगिने अपेक्षा गरिएको युद्ध लम्बिँदै जाँदा अमेरिकाको आर्थिक भार बढेको हो ।
युद्धको सुरुवाती चरणमा अमेरिकाले इरानको रक्षा प्रणाली कमजोर पार्न महँगा र सटिक क्षेप्यास्त्र प्रयोग गरेको थियो । त्यसपछि तुलनात्मक रूपमा सस्ता हतियार प्रयोग गरेर आक्रमण जारी राख्ने रणनीति अपनाइएको थियो ।
रोयटर्सका अनुसार अप्रिलमा भएको युद्धविरामपछि इरानले भूमिगत भण्डारणमा रहेका केही मिसाइल, ड्रोन र रक्षा प्रणाली पुनः सञ्चालनमा ल्याएको छ । युद्धविरामपछि ट्रम्प प्रशासनले इरानको तेल निर्यातबाट हुने आम्दानी रोक्ने उद्देश्यले समुद्री नाकाबन्दीसमेत लगाएको छ ।
ट्रम्पले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि पुनः ठूलो सैन्य कारबाही सुरु हुन सक्ने सम्भावनालाई पनि खुला राखेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आदेश आएमा युद्धलाई पुनः तीव्र बनाउन पेन्टागनले तयारी गरिरहेको छ ।
युद्धको बढ्दो खर्चले अमेरिकी राजनीतिमा समेत दबाब सिर्जना गरेको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा आगामी दुई वर्ष कसको नियन्त्रण रहने भन्ने तय हुनेछ । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत झिनो छ ।
युद्धका कारण विश्व बजारमा ऊर्जा मूल्य बढेको र त्यसले रिपब्लिकन उम्मेदवारहरूलाई असर पारेको रोयटर्सले जनाएको छ । ऊर्जा मूल्यमा भएको वृद्धिसँगै ट्रम्पको लोकप्रियतामा समेत असर परेको विवरणमा उल्लेख छ ।
यस्तो अवस्थामा युद्धको बढ्दो लागत ट्रम्प प्रशासनका लागि आर्थिकसँगै राजनीतिक चुनौतीसमेत बनेको छ । हतियारको भण्डार पुनः भर्न, क्षतिग्रस्त सैन्य संरचना मर्मत गर्न र युद्ध सञ्चालनको खर्च धान्नुपर्ने दबाबले अमेरिकी बजेटमा थप भार पर्ने देखिएको छ ।
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल