Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईश्वरलाई मैदानमा उतार्दै भण्डारी पक्ष

काठमाडौं । आफू एमलोको सक्रिय राजनीतिमा आउने विद्या भण्डारीको योजना अध्यक्ष केपी शर्मा ओलीले रोकेपछि अन्ततः वरिष्ठ उपाध्यक्ष्लाई मैदानमा उतार्ने तयारीमा भण्डारी पक्ष पुगेको छ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने अध्यक्षको चुनावमा केपी शर्मा ओलीलाई ईश्वर पोखरेलले टक्कर दिने भएका छन्। एमालेको महाधिवेशन मंसिर २७–२९ मा काठमाडौँमा हुने तय भएको छ। आफ्नो प्रतिस्पर्धी कोही नहून् र निर्विकल्प अध्यक्ष बन्न सकियोस् भन्ने योजनाअनुसार ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता निलम्बनमा राखिदिएका छन्। तर, ओलीले अन्ततः पोखरेलसँग भिड्नुपर्ने भएको छ। अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका पोखरेलका पक्षमा बहुमत सचिवालय सदस्यहरु रहेको एमाले नेताहरु बताउँछन्। यद्यपी केन्द्रीय कमिटी र अन्य कमिटीहरूमा भने महाधिवेशनपछि पनि ओलीले नै पार्टीको नेतृत्व सम्हाल्नु पर्ने पक्षमा निकै ठूलो बहुमत देखिएको छ। २०७८ मंसिरमा भएको एमालेको दसौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा उनकै समूहबाट पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। आफूहरूले पनि पोखरेललाई उठ्न सुझाव दिएको ती नेताले जानकारी दिए। ओलीले तेस्रो कार्यकालको अध्यक्ष बन्नकै लागि विधान संशोधन गरेर उमेर हद र दुई कार्यकालको प्रावधान हटाइसकेका छन्। यसले पोखरेललाई पनि अध्यक्षमा चुनाव लड्ने बाटो खोलिदिएको छ। सचिव गोकर्ण विष्ट पनि यस पटकको महाधिवेशनमा प्रतिस्पर्धा गर्न नेताहरू तयार रहेको बताउँछन्। जेन–जी आन्दोलनपछि ओलीलाई नेतृत्व छोड्न दबाब दिनेमध्येमा पोखरेल पनि थिए। असोज २४ र २६ गते भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा पोखरेलसहित बहुमत पदाधिकारीले ओलीलाई पद छोड्न सुझाव दिएका थिए। तर, ओलीले सो सुझाव अस्वीकार गरेका थिए। बरू उनले नियमित समयभन्दा १३ महिना अगावै महाधिवेशन मिति तोकेका छन्। पूर्वराष्ट्रपति भण्डारीको निलम्बनमा राखिएको एमालेको सदस्यता खुलाउन ६ पदाधिकारीले कात्तिक १५ गतेको सचिवालय बैठकमा पनि जोडबल गरे। ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले भण्डारीको सदस्यता खोल्न आग्रह गरेका थिए। तर, ओलीले सकारात्मक जवाफ दिएनन्। उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि अध्यक्ष ओलीले भण्डारीलाई सदस्यता दिनै नचाहेको बताए। भण्डारीले अध्यक्षमै उम्मेदवारी दिने डरले ओलीले सदस्यता निलम्बन गरेको उनी बताउँछन्। भण्डारीको एमाले सदस्यता खुलाउने प्रयास सफल नभएपछि महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न पोखरेल तयार भएका हुन्। पोखरेल पक्षका नेताहरूको भनाइमा उनले भण्डारीसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवार बन्ने निर्णय गरेका हुन्। उनले अन्य नेताहरूसँग छलफल थालिसकेका छन्। नेताहरूका अनुसार अध्यक्ष मात्र होइन, अन्य पदाधिकारी पदमा समेत पोखरेल पक्षले उम्मेदवार खडा गर्दैछ। त्यसो हुँदा एमाले महाधिवेशनमा दुईवटा प्यानल बन्ने देखिन्छ। विधान संशोधन गरेर पदाधिकारी १५ सदस्यीय बनाइएको छ। ओलीसँग कोही प्रतिस्पर्धा गर्न तयार नभए आफैँ उठ्ने घोषणा योगेश भट्टराईले गरिसकेका छन्। महाधिवेशनमा २१ सय प्रतिनिधि हुनेछन्। यस निर्णयले पोखरेल पक्ष उत्साहित छ। महाधिवेशन प्रतिनिधि चयनमा उनीहरूले ध्यान दिनुपर्ने निचोड निकालेका छन्। महाधिवेशनमा पूर्वराष्ट्रपतिको रोकिएको सदस्यताको मुद्दालाई चर्काउने उनीहरूको तयारी छ। एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए। तर, उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएपछि चुनाव भएको थियो। पछि रावललाई उनले पार्टीबाटै निस्कासन गरिदिए। यसपटक पनि एमालेमा सर्वसम्मत बन्ने ओलीको चाहना सफल नहुने भएको छ। पोखरेललाई अघि सारेर नेताहरूले नेतृत्व हस्तान्तरणको प्रयास गर्ने बताएका छन्। केही नयाँ र युवालाई पदाधिकारीमा ल्याउने भन्दै उनीहरू छलफलमा छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल