Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपकुलपतिविरुद्ध ८ करोड भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा. बलभद्र प्रसाद दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार डा. दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा दायर गरेको हो । डा. बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसामात्र रहेको आयोगको ठहर छ । तर डा. दासले सोही अवधिभित्र. १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आएको दावी गर्दै आयोगले वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसाको खर्च तथा लगानीको स्रोत खुल्न नआएको भन्दै मुद्दा दायर गरेको हो । डा. दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी पत्नी पुनम दासको नाममा समेत राखेको भन्दै आयोगले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पुनम दासलाई समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।