Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा १०६, देशभर ४६४ जना संक्रमित भएसँगै काठमाडौं उपत्यका १५ दिनलाई सटडाउन

काठमाडौं । कोरोना संक्रमण थपिनेक्रम आज पनि बढेको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिले कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।

उपत्यकामा १०६ जना संक्रमित
कोरोना संक्रमणको अति जोखिम क्षेत्रमा परेको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या थपिनेक्रमसँगै उपत्यकालाई १५ दिनका लागि सटडाउन गर्ने निर्णय भएको छ ।

१५ दिनका लागि ‘सटडाउन’
कोरोना संक्रमण फैलिए पनि सोलोमोलो लकडाउन नगर्ने सरकारको नीति अनुरुप काठमाडौं उपत्यका १५ दिनका लागि सटडाउन हुने भएको छ । सटडाउनमा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिन्छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको हो । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक ले यस्तो निर्णय गरेको हो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको बताइएको छ ।

सटडाउन अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइएको छ । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले गर्ने निर्णयमा भर पर्दछ । यसैगरी, मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।