Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामै थुप्रियो संक्रमण, १४४२ संक्रमितमध्ये १०३८ काठमाडौं उपत्यकामै

काठमाडौं । परीक्षण दर घटेसँगै कोरोना संक्रमितको संख्या पनि घटेको बेला धेरै संक्रमित राजधानी काठमाडौं उपत्यकामै भेटिएको छ । बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै संक्रमितको कुल संख्या भने २ लाख १२ हजार ९१७ पुगेको छ । हाल संक्रमण निको हुने दर ८५।८ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२५९ पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित विभिन्न १३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल मनाङमा मात्रै शून्य संक्रमित रहेको छ ।


सम्बन्धित समाचार