Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपसभामुखको राजीनामा गराउने तयारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो । उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अधिवेशन र सभामुखको उम्मेदवार दुवै अहिले निश्चित छैन ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संविधानमा उल्लेख छ । यसअघि पनि तत्कालीन एमाले र माओवादी केन्द्रले उक्त पद बाँडफाँट गरेका थिए । पार्टी एकीकरणपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुईमध्ये एक पद छाड्नुपर्ने माग गरेको थियो । अदालतमा मुद्दा विचाराधीन भएपछि उक्त विवाद तत्कालका लागि सेलाएको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिए। राजीनामासँगै सभामुख पद नेकपाले आफैँसँग राख्न उपसभामुखको राजीनामा अनिवार्य छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ संवैधानिक परिकल्पनाअनुसार सभामुखरउपसभामुखको मनोनयनअघि पार्टीले उपयुक्त निर्णय लिने बताए । उनले भने, संविधानले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने व्यवस्था गरेको छ । त्यो विषय हाम्रो जानकारीमा छ । सभामुख चयनको निर्वाचनअघि पार्टीले यस विषयमा उपयुक्त निर्णय लिन्छ । प्रतिनिधि सभा नियमावलीले उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिन सक्ने व्यवस्था छ ।