Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्रलाई सरकार छाड्न दबाव

काठमाडौं । समाजवादी पार्टीलाई सरकार छाड्न दवाव परेको छ । शुक्रबारदेखि शुरु भएको समाजवादी पार्टीको केन्द्रीय समितीको बैठकमा बोल्ने अधिकाश केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टी सरकारबाट हट्नुपर्ने दवाव दिएका छन् । सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको दुई बुँदे सम्झौता कार्यान्वयन गर्नमा ढिलासुस्ती गरेको कारण त्यहाँ बसिरहनुको कुनै औचित्य नरहेको भन्दै नेताहरुले सरकार छाडेर आन्दोलनमा जान दवाव दिएको समाजवादी पार्टी संघीय परिषद्का सदस्य पवन देवानले बताए ।
खासगरी तत्कालीन नयाँ शक्ति नेपालका तर्फबाट समाजवादी पार्टीमा रहेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले एक स्वरले नै सरकारबाट हट्नुपर्ने सुझाव दिएका छन् । बोल्ने क्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, केशवराज पौडेल, यज्ञ पोखरेल, रुद्र गुरुङ, उपेन्द्रलाल कामी, प्रभुराम श्रेष्ठ, दानबहादुर चौधरी, प्रल्हाद गिरी, रामरिझन यादव लगायतका केन्द्रीय सदस्यहरुले सरकार छाडेर आन्दोलनमा जान सुझाव दिएका छन् । सरकारमा रहँदा समाजवादी पार्टीलाई सांगठनिक रुपमा घाटा भइरहेको बताउँदै उनीहरुले जुन उद्देश्यका लागि सरकारमा गएका छन् ती उद्देश्य पुरा नभए त्यहाँ बसिरहनुको औचित्य नरहेको बताएका छन् ।
तर नेतृत्वमाथि दवाव परेपनि समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।
पदाधिकारीको बैठकबाट सरकारलाई नेतृत्व गरेको दललाई अल्टिमेटम दिने र त्यसपछि मात्र सरकार छाड्ने कि नछाड्ने विषयमा निर्णय हुने उनले बताए ।
समाजवादी पार्टी सरकार छाड्ने नछाड्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बसेको समाचार गलत रहेको सो पार्टीका कोषाध्यक्ष विजय यादवले बताए । पार्टीका विधान, संगठनात्मक कार्ययोजना तथा नियमावालीको बारेमा छलफल भइरहेको छ । त्यसैमा केन्द्रित भएर बोल्न नेताहरुलाई रुलिङ गरिएको छ । एजेण्डाभन्दा बाहिर कसैले बोले भने कार्यक्रम सञ्चालक अथवा पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वयं त्यसलाई रोक्ने गरेका छन् । सरकार छाड्ने न छाड्ने विषयमा नेताहरुले जबर्जस्ती बोलेका छन् ।
केन्द्रीय सदस्यहरुले बोलेका विषयमा अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले जवाफ दिनेछन् । बैठकको निर्णय आइतवार बस्ने पदाधिकारीको बैठकबाट मात्र सार्वजनिक गर्नेछ ।