Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी प्रवेश गराउने चालक पक्राउ

उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी प्रवेश गराएर यात्रुको ज्यान जोखिममा पारेको आरोपमा काभ्रे प्रहरीले पाँच जना चालकलाई पक्राउ गरेको छ।

खोलामा गाडीसहित फसेका ८९ जना यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशी क्षेत्रमा पाँच वटा माइक्रोबस खोलामा फसेका थिए। पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका ती सवारीमा रहेका यात्रु जोखिममा परेका थिए।

यात्रुहरू फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। संयुक्त प्रयासमा बुधबार बिहान करिब १ बजे सबै यात्रुको सफल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए।

उद्धारका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीले सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएका थिए। तर उक्त निर्देशन अवज्ञा गर्दै लापरवाहीपूर्वक सवारी चलाएको भन्दै पाँचै चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।