Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकताको मुद्दाले राजपामा विभाजनको रेखा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि अनौचारिक वार्ता दिनहुँजसो हुन्छ तर एकीकरण भने अझै पनि अनिश्चित बनेको छ । राजपाको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले एकताका लागि समाजवादी पार्टीसँग निरन्तर छलफल गर्दै आएका छन् । उनले कहिले पार्टी कार्यालय त कहिले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीजि निवास र सरकारी निवासमा पुगेर छलफल गर्दै आएका हुन् ।
यस्तै उनले उनी सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग समेत छलफल गर्ने गरेका छन् । तर छलफलबारे पार्टीमा भने पर्याप्त छलफल नहुने गरेको राजपाका नेताहरु बताउँछन् । राजपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका नेता महतोले समाजवादी पार्टीसँग गरेका वार्ताहरुको बारेमा पार्टीलाई कुनै जानकारी नहुने गरेको एक नेताको भनाइ छ ।
समाजवादी पार्टी र महतोबीच एकीकरणका लागि तीनवटा प्रस्तावमा छलफल भएको छ । सुरुमा समाजवादी पार्टीले महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष, बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । त्यसपछि राजपा नेपालले दुवै दलबाट दुई दुईजना अध्यक्ष रहने प्रस्ताव गरेको थियो । जसमा समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राजपाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको नाम प्रस्ताव थियो । यही अवस्थामा समाजवादी पार्टीसँग एकीकरण गरिए राजपा नेपाल विभाजन हुनसक्ने खतरा देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले समाजवादी पार्टीसँग एकीकरण भयो भने आफू एकीकृत पार्टीमा नजाने भनिसकेका छन् ।