Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकल गायनमा गुञ्जिए बलराम

गायक, सङ्गीतकार तथा वरिष्ठ वासुरीबाधक बलराम समाल एकल गायनमा गुञ्जिएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार भएको एकल गायनमा उनी गुञ्जिएका हुन् । राष्ट्रिय सांस्कृतिक संस्थान नाचघरका पूर्वमहाप्रबन्धक राजेश थापा मगरको प्रमुख आतिथ्यतामा भएको एकल गायनमा बलरामलाई बाध्यबाधनमा रूपेश सिंह, सुरज श्रेष्ठ, आकाश गोर्खाली, राहुल भुजेल, कुन्दन शाह र अनिल मगरले साथ दिएका थिए भने साउन्डमा छिरिङ भुटिया रहेका थिए ।
गोपाल योञ्जनको राष्ट्रिय गीत ‘देशले रगत मागे…’बाट एकल गायनको दैलो उघारेका बलरामले आफ्नै गीत ‘तिमी दुलही बनेर जादा…’, ‘ढुङ्गाको मुटु…’ फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रहेछ…’, भक्तराज आचार्यको ‘हजार सपनाको…’, शङ्कर प्रेरणको ‘सोचे जस्तो जिन्दगी हुन्न..’, ‘रेशमैको पछ्यौरीले लग्यो मेरो मन…’ नारायण गोपालको ‘यति चोखो यति मीठो दिउँला तिम्लाई माया…’, अरूण थापाको ‘चोट के हो…’, आफ्नै दुई पूर्वेली लोक गीत ‘लामपाते सुर्ती…’ र ‘सम्झ मनैमा…’ लगायतका गीत प्रस्तुत गरेका थिए । ‘एकान्तको गोधुलीमा…’ गीतमा बलरामलाई गायिका कमला थापा मगरले साथ दिएकी थिइन् ।
गीतकार शङ्कर प्रेरणा, नेपाल सांस्कृतिक मगर सङ्घका अध्यक्ष कविराज थापा, सङ्गीतकार वसन्त मुकारुङ, शिशु मिलन स्कुलका बुद्ध गोले, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, गायक सुमन खड्का, गीतकार विजय कटेल, मेजर नवीन मुकारुङ, गायिका सरोजा मुकारुङ, अञ्जु गौतम, नीला थापा, रमिला मगरलगायतका अतिथिहरू रहेको कार्यक्रम बलरामले एक दर्जनभन्दा बढी गीतमार्फत् उपस्थित श्रोता–दर्शकको वाहीवाही बटुल्न सफल भएका थिए । कार्यक्रममा प्रमुख अतिथि राजेश थापा मगरले सबै प्रकारका गीत गाउन सक्ने क्षमता बलाराममा रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए भने बलरामले आउँदा दिनमा पनि सबैको साथ सहयोगको अपेक्षा आफूले राखेको बताए ।


सम्बन्धित समाचार