Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तुल्सीपुर । विश्व महामारी कोरोना कहरबाट मानव मृत्युको श्रृङ्खला भयावह अवस्थामा देखियो । सँगै हिडेको साथी कोरोनाबाट मृत्युको खरब पाउँदा मानिस स्वभावैले आतंकित बन्न पुगेका छन् । सरकार छ तर त्यसले अस्पतालको निम्ति आवश्यक पूर्वाधार तयार गर्दैन । कोरोना नियन्त्रणका लागि गठन भएको उच्च स्तरिय समिति सीसीएमसीका सञ्चालकहरु केवल कमिशनमा केन्द्रीत छन् ।
उनीहरु पूर्वाधार निर्माणमा आवश्यक पर्ने बजेट दिदैनन् । तर अस्पतालहरुलाई १५ दिन भित्र अक्सिजन उत्पादन गर्न आदेश दिन्छन् । उनीहरुको यस्तो आदेशले कोरोना प्रभावित बिरामीलाई छोएको छैन । उता दाङबाट प्राप्त दुखद समाचार अनुसार देउखुरीको गढवा गाउँपालिका–४ पर्सेनीमा कोरोना संक्रमणबाट पीडित एकै परिवारका तीन जनाको एक महिनाको अवधिमा मृत्यु भएको छ । तीनै जनाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन् । यही वैशाख ११ गते अब्दुल कलामको कोरोना संक्रमणबाट ज्यान गयो । उनलाई गाउँमै ल्याएर मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । त्यसको केही दिनपछि नै उनका भाइ मोहम्मद उमरलाई कोरोना संक्रमण पुष्टि भयो । उनको पनि उपचार गर्दागर्दै यही वैशाख २५ गते बेलझुण्डी अस्पतालमा मृत्यु भयो । त्यसको तीन दिनपछि मोहम्मदका २६ वर्षीय छोरा अहमद रज्जाकले बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभावका कारण मृत्यु भएको छ । वैशाख २८ गतेको त्यो रात बेलझुण्डी अस्पतालमा उपचाररत रज्जाकसहित आठ जना बिरामीले अक्सिजन अभावमा ज्यान गुमाएका थिए ।
अहमद रज्जाक बुवा बिरामी हुँदा अस्पतालमा कुरुवा बसेका थिए । त्यही क्रममा उनी गम्भीर बिरामी परेपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । जेठो छोरो गइहाल्यो । माइलो छोरो अपांग छ । कान्छो छोरो सानै छ । श्रीमतीको काँधमा २५ लाख ऋणको भारी छ । गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् मोहम्मद उमरकै टोलवासी गुलाम मोहम्मदका अनुसार यो अस्पतालमा म बाँच्दिन भन्ने लागेर होला मोहम्मदले आफ्नो ऋण–सापटीको हिसाबकिताब टिप्दै थिए । छोराले त्यो कुरा देख्यो । दुवै बाबु–छोरा अंगालो हालेर रोए । छोरो होपलेस भइहाल्यो । त्यही बेलादेखि छोरो झन् बिरामी भएको र अस्पतालमै भर्ना गरेर उपचार गर्नु परेको वडाध्यक्ष गुलाम मोहम्मद बताउछन् । अब्दुल कलाम, उनका भाइ मोहम्मद उमर र उमरको छोरा अहमद रज्जाकको अन्त्येष्टि गाउँमै मुस्लिम परम्पराअनुसार गरिएको थियो । उनीहरु भैंसीको व्यापार गर्दथे ।
भारतको बलरामपुर क्षेत्रबाट उन्नत जातका भैंसी ल्याएर बेचबिखन गर्ने उनीहरुको पेशा थियो । अहिले एउटै घरका तीन सदस्यको मृत्यु भएपछि परिवार संकटमा छ । वडाध्यक्ष गुलाम मोहम्मद भन्छन्, कवि भूपि शेरचनले (बाँचेर हेर बाँच्नलाई कति कठिन छ) भनेजस्तो भएको छ । दाजु अब्दुल कलामको त केही हदसम्म ठीकै छ । तर उनका भाइ उमरको परिवारको भने बिचल्ली छ । जेठो छोरो गइहाल्यो । माइलो छोरो अपांग छ । कान्छो छोरो सानै छ । २५ लाख रुपैयाँ ऋण छ भनेर परिवारका सदस्यहरुले भन्ने गरेको वडाध्यक्ष गुलाम मोहम्मदको भनाइ छ । कतिपयले कोरोना संक्रमितको मृत्यु संस्कारमा सावधानी नअपनाइँदा परिवारका तीनजना गुमेको दाबी गर्दछन् ।
एक स्थानीयले भने, वडाध्यक्षकै जोडबलमा आफैं अन्त्येष्टि गरियो । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना पनि नगरिंदा परिवारमा ठूलो क्षति भयो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रजित थारुले पनि त्यसैप्रति संकेत गरेका छन् । आफ्नो स्कुले साथी र उनका परिवारका सदस्य गुमाएको थाहा पाउँदा दुःख लागेको बताउँदै उनले फेसबुकमा लेखेका छन्, कोरोना संक्रमितको लास व्यवस्थापनमा लापरवाही नहोस् । हामी सबैले पनि सतर्कता अपनाउनुपर्यो । साथै त्यो टोलको पीसीआर चेक गरी आवश्यक सुविधाको व्यवस्था गरियोस् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल