Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एशिया बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति

काठमाडौं । गैर बैंकिङ सम्पत्ति बढ्न थालेपछि एनआईसी एशिया बैंकले धमाधम आफूले सकारेका घरजग्गा बिक्रीका लागि सूचना निकाल्न थालेको छ । बैंकले तीन दिनमै काठमाडौं र ललितपुरसहित २४ जिल्लाका १०४ ठाउँका घरजग्गा बिक्रीका लागि सूचना निकालेको हो ।
बैंकले काठमाडौं, ललितपुर, कपिलवस्तु, बर्दिया, गुल्मी, सिरहा, कास्की, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापा, मकवानपुर, ललितपुर, वीरगन्ज, नवलपरासी, बाँके, तनहुँ, मुगु, सुर्खेतलगायतका जिल्ला मालपोत कार्यालयमा दर्ता भएका घरजग्गा बिक्री गर्ने भएको छ ।
ऋणीले ऋण नतिरेपछि बैंकले सकारेका जग्गा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । घरजग्गा किन्न इच्छुक व्यक्ति, फर्म, कम्पनी या संघसंस्थाले ७ दिनभित्र जग्गा खरिद गर्न चाहेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गरी बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
बोलपत्रदाता व्यक्ति भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्पर्क विवरण तथा फर्म, कम्पनी या संस्था भएमा दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र संस्थागत प्रतिनिधित्वका लागि सञ्चालक समितिको निर्णय जस्ता कागजातसहित बैंकको रजिष्टर्ड कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बैंकले गैर बैंकिङ सम्पत्ति बढी राख्दा जोखिम प्रावधान (प्रोभिजन) गर्नुपर्नेलगायतका कारण घरजग्गा बिक्री गर्न लागेको जनाएको छ । अन्य बैंकले पनि आफ्नो स्वामित्वमा देशका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीका लागि धमाधम सूचना निकालिरहेका छन् ।
असोजमा राष्ट्रिय वाणिज्य बैंकले पनि गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने सूचना जारी गरेको थियो । बैंकले आफ्नो स्वामित्वमा रहेको अत्तरिया र गौर शाखाको नाममा रहेको ७ करोड ३५ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न सूचना जारी गरेको थियो ।


सम्बन्धित समाचार