Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनजीओको खाजाले राज्य व्यवस्थाको बैठक नै रोकियो

काठमाडौं । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अलि फरक दृश्य देखियो । सधैँ बैठकमा आउने सांसदहरूलाई पनि बैठकस्थलमा छिर्दा अनौठो अनुभूति भएको थियो ।

बैठकमा केही ढिला प्रवेश गरेका नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रवेश गर्नसाथ सभापति रामहरि खतिवडालाई व्यङ्ग्य गरे–आज त टेबलमा काटा चम्चा छ त

बैठक हलभित्रै खाजाको पनि प्रबन्ध देखेर उनलाई शंका लाग्यो । त्यसैले सभापति खतिवडालाई थप प्रश्न गरे, निजामती ऐन पारित गर्ने कि मिठो मिठो खाजा खुवाएर हामीलाई भुल्याउने हो सभापति ज्यू

छेवैमा बसेका सांसदहरूले थानीलाई प्रश्न सोध्न थाले, के हो यो के कुरा गर्दै हुनुहुन्छ

उनले वरिपरि आँखा डुलाउँदै थपे यो समितिमा को–को आउनुभएको छ समितिका सदस्य र विज्ञमात्र यहाँ देख्नुभयो
तर, सभापति रामहरि खतिवडाले भने, पहिले खाजा खाऔं अनि छलफल गरौंला ।

सभापति खतिवडाले यस्तो प्रस्ताव राखेपछि उनकै दल नेपाली कांग्रेसका अर्का सांसद ईश्वरीदेवी न्यौपानेले गम्भीर विमति जनाइन् ।

सभापतिज्यू, यो खाजाको स्रोत के हो समितिमा नियमित उपलव्ध हुने खाजा हो भने खाऔं । यो कसैले स्पोन्सर गरेको हो भने मान्य छैन, न्यौपानेले भनेकी थिइन्, यसरी एनजीओलाई स्पोन्सर गरायौं भने भोलिका दिनमा रोक्न सकिँदैन । त्यसैले आजको बैठक नै रोकौं ।

न्यौपानेले त्यसो भनेपछि एमाले सांसद रघुजी पन्तले थपे, नेपाल सरकारले उपलव्ध गराएको पैसाले हामी खाजा खाइरहेका छौं । यहाँ एनजीओको उपस्थिति किन चाहियो आज खाजा स्पोन्सर गर्नुहोला भोलि २, ५ हजार खल्तीमा हाल्दिनुहोला । अनि उहाँहरूबाट प्रभावित भएर हामीले कानुन बनाउने

पन्तले समितिमा यस्ता हर्कतले कस्तो सन्देश जान्छ भन्दै आक्रोश नै पोखे ।

त्यसपछि पुनः कांग्रेस सांसद थानीले उपस्थित व्यक्तिमध्ये लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीतर्फ संकेत गर्दै भने, उहाँ विज्ञ हो । उहाँको कुरा सुन्न भनेर आएका हौं हामी । तर, स्पोन्सर एनजीओलाई समितिमै उपस्थित गराउने कुरा सकारात्मक हुँदैन ।

थानीले एनजीओको उपस्थिति गराएर कार्यक्रम गराउने हो भने अन्यत्र गएर छलफल गर्न उपयुक्त हुने सुझाव दिए ।

त्यसपछि बैठकमा उपस्थित रहेका लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले आफू कुनै एनजीओको नभएर राज्य व्यवस्था समितिकै निमन्त्रणामा बैठकमा आएको जवाफ दिएका थिए ।

यतिन्जेलसम्ममा बैठकमा उपस्थित भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित केही सांसदहरूले भने खाजा खाइसकेका थिए । गृहमन्त्री लामिछाने भने त्यसपछिको छलफमा सहभागी हुन चाहेनन् । उनले आफूले थाहा नपाइकन खाजा खाइसकेको भन्दै अब बैठकमा नबस्ने भनेर बाहिरिएका थिए ।

त्यतिको प्रश्न उठिसकेपछि उहाँ छलफलमा भाग लिनुहोला आफ्नो राय राख्नुहोला भन्ने थियो, समिति एक सदस्यले भने, तर, उहाँ म बाहिरिएँ भनेर मात्र निस्कनुभयो ।

यता, गृहमन्त्रीको सचिवालयले एनजीओको खाजा समितिमा स्पोन्सर भएपछि बैठक छाडेर हिँडेको बताएको छ । सचिवालयका अनुसार गृहमन्त्री लामिछानेले खाजाको स्रोत खोजी गर्दै सभापति खतिवडालाई प्रश्न गरेका थिए ।

सभापतिलाई प्रश्न उठाउँदै एनजीओको स्पोन्सरमा कार्यक्रममा बस्न मिल्दैन भनेर उहाँ निस्कनुभयो, सचिवालयले भन्यो ।

गृहमन्त्री बाहिरिएपछि सभापति खतिवडालाई गृहमन्त्रीले समेत छोडेर हिँडेपछि कस्तो सन्देश जान्छ भन्दै सांसदहरूले प्रश्न उठाएका थिए । उनीहरूले मैनाली सहित विज्ञहरूलाई डाकेर समितिको बैठक अर्को दिन सञ्चालन गर्न आग्रह गरेपछि सभापति खतिवडाले बैठक स्थगन गरे । अर्को बैठकको टुंगो लागेको छैन ।

यता सभापति रामहरी खतिवडाले भने बैठकमा खाजा खाना स्पोन्सर भन्दा पनि समिति बैठकमा एनजीओकर्मी छिर्न खोजेपछि बैठक अघि नबढाइएको बताए ।

दुईजना एनजीओको मान्छे छिरेको देखियो । हामी बैठकमा एनजीओको राख्दैनौं भनेर बैठक स्थगित गरेका हौं, उनले भने, बिहान खाजा खाना हुन्छ । त्यो फरक पाटो हो । एनजीओ हामीले रोकेको हो । शिक्षा समितिमा पहिला उहाँहरुले गर्नुभएको रहेछ । उहाँहरुले सामान्य हिसाबले लिनुभएको होला हामीले सामान्य हिसाबले लिएनौं ।

समिति बैठक बिहान ८ बजेका लागि बोलाइएको थियो । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो । विधेयकमाथि छलफलमा गर्न समिति सदस्यहरू, पदेन सदस्य गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मात्र होइन विज्ञको रूपमा उमेश मैनालीलाई बोलाइएको थियो ।

 


सम्बन्धित समाचार