Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । देश पुरै प्रतिपक्षमा रहँदा संसद्मा टेबल भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि बहुमत पुर्याउने गृहकार्यमा जुटेका छन् । गठबन्धन दलका सांसद र विपक्षी दललाई फकाउने रणनीतिमा देउवा जुटेका हुन् । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै प्रधानमन्त्री संसदीय अंकगणितको जोड–घटाउमा लागेका छन् । पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको बुझाइ छ । एमालेले मतदान प्रक्रिया बहिष्कार गर्ने अनुमान उनको छ । एमालेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले सभामुख अग्नि सापकोटाको विरोध गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । देउवाले मन्त्रीहरूलाई बोलाएर एमसीसीको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै विपक्षमा मतदान गरे मन्त्री पद नरहने चेतावनी दिएको बालुवाटार स्रोतको दाबी छ । संसद्मा हाल कायम सांसद संख्या २ सय ७१ छ, जसमा एमालेका ९७, कांग्रेसका ६१, एकीकृत समाजवादीका २४, जनता समाजवादीका २०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १२, जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् । एमसीसी सम्झौता अनुमोदन हुन एक चौथाइभन्दा बढी सांसदको उपस्थितिमा बहुमत पुग्नुपर्छ । प्रधानमन्त्री देउवाको अपेक्षा गत माघ २९ मा बालुवाटारमा बनेको अनौपचारिक समझदारीअनुसारै माओवादी र एकीकृत समाजवादीले साथ दिन्छन् कि भन्नेछ । त्यस दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसँग एमसीसी अनुमोदनमा सहयोग पुर्याउने गरी अनुपस्थित हुने समझदारी गरेका थिए ।
अहिले सडकको आक्रोश र पार्टीभित्रकै दबाबलाई कारण देखाउँदै यी दुई दलले विपक्षमा मतदान गर्ने जनाउ प्रधानमन्त्रीलाई दिएका छन् । उनीहरूले विपक्षमा मतदान गर्ने अडान कायम राखेमा देउवाले उपेन्द्र यादव नेतृत्वको जसपा र ठाकुर नेतृत्वको लोसपाको साथ लिएर एमसीसी अनुमोदन गराउने रणनीति बनाएका छन् । जसपा अध्यक्ष यादव एमसीसीको पक्ष र विपक्षमा खुलेका छैनन् तर संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कम्तीमा १२ सांसदले पक्षमा मतदान गर्ने भनेर प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएका छन् । बालुवाटार स्रोतका अनुसार पार्टीले निर्णय गरे पनि माओवादी र एकीकृत समाजवादीका केही मन्त्री र उदार पृष्ठभूमिका सांसदसँग प्रधानमन्त्रीले कुराकानी गरिरहेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल