Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीको पक्षमा भारी पुर्याउँदै देउवा

काठमाडौँ । जसरी पनि एमसीसी पास गरेर अघि बढ्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । सकेसम्म सत्ता गठबन्धनबाट एमसीसी पास गर्न सके आफ्नो कुर्सी सुरक्षित हुने उनको भित्री योजना रहेको छ । एमसीसीसँगको अनुदान सम्झौताका कारण सत्ता गठबन्धन संकटमा परेको छ भने सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले नजिकिएका छन् । एकीकृत समाजवादी र जनता समाजवादीभित्र पनि एमसीसीका कारण विवाद छ । केही सातायता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गर्नेरनगर्ने विवादमा दलहरू फसेका छन् । यसको सबैभन्दा ठूलो असर सत्ता गठबन्धनमै परेको छ । कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ भने कांग्रेसलाई सत्तामा पुर्‍याउन सडक आन्दोलन गरेका र अदालतको ढोका घचघच्याएका माओवादी र एकीकृत समाजवादी संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन् । खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीमा ‘सुरक्षित अवतरण’ खोजेका छन् । दुवै नेताले संसद् भवननजिकै कार्यकर्ता उतारेर विरोध प्रदर्शन गरिरहेका छन् भने कांग्रेससँग मध्यमार्गी उपायको खोजी पनि गरिरहेका छन् । एमसीसीबारे जसपामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच द्वन्द्व छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सघन वार्तामा छन् । देउवा र ओलीबीच तीन पटक बालकोट, दुई पटक बालुवाटार र एक पटक संसद् भवन नयाँ बानेश्वरमा वार्ता भयो । यही विषयलाई लिएर ओली र माओवादी अध्यक्ष दाहालबीच पनि भेटवार्ता भएको छ तर शुक्रबार बेलुकासम्म प्रमुख दलबीच सहमति जुटेको छैन । एमसीसी विवादकै कारण पछिल्लो समय नेपालको भूराजनीतिमा उत्तरी छिमेकी चीन र दाता अमेरिका सक्रिय भएका छन् । माओवादी नेता राम कार्कीले नेपालले एमसीसी मुद्दामा अन्तर्राष्ट्रिय शक्तिलाई आमन्त्रण गर्नु गलत भएको बताए । आगामी निर्वाचनलाई लक्षित गरी प्रमुख राजनीतिक दलले यसलाई एउटा प्रमुख मुद्दाका रूपमा अघि बढाउने रणनीति बनाएकाले यो झन् जटिल विषय बनेको छ । सत्ता गठबन्धनबीच लामो छलफलपछि फागुन ८ मा संसद्मा एमसीसी टेबल त भयो तर छलफलमा जान सकेको छैन । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले नटाँसेको भन्दै तीन महिनाभन्दा बढी समयदेखि संसद् अवरुद्ध गरिरहेको छ । अवरोधबीच संसद्मा टेबल भएको एमसीसी सम्झौता अनुमोदन हुनेबारे अन्योल छ । सत्ता गठबन्धन धरापमा पारेर देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग हात अघि बढाएका छन् । तर, आफूलाई प्रधानमन्त्री बनाउन ‘सकारात्मक’ भूमिका खेलेका सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने पहिलो सर्त एमालेले राखेपछि देउवा अप्ठ्यारोमा परेका छन् । यही अप्ठ्यारोलाई बुझेर एमसीसीमा ‘मध्यमार्गी’ समाधान निकाल्न गठबन्धनका दोस्रो तहका नेताहरू कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्माको टोली जुटेको एक नेताले बताए ।