Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीले ल्याएको भाँडभैलो

काठमाडौं । एमसीसीको विवादले गठबन्धन मात्रै होइन राजनीतिक दलमा समेत विभाजनको चिरा परेको छ । राजनीतिक दलहरु फुटको जोखिममा पुगेका छन् । एमसीसीको विषयले दलहरुभित्र न मतभेद हुँदा फुटको जोखिम देखिएको हो । नेकपा एमाले एमसीसीबारे स्पष्ट भएको छैन । तर, काँग्रेससँग कुरा मिलेमा एमसीसीको पक्षमा जाने अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट सन्देश दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी पारित गर्नेसम्बन्धी भद्र सहमति गरिसकेको बुझिएको छ । एमसीसीको पक्षमा एमाले गएमा भीम रावललगायतका नेताहरुले विद्रोह गर्ने सम्भावना छ । रावल खुलेरै एमसीसीको विरोधमा छन् । घनश्याम भुसाल, गोकर्ण बिष्ट, तुलसा थापालगायत सांसदहरु पनि एमसीसीको पक्षमा छैनन् । उनीहरुको समूहले एमसीसीको विपक्षमा गएर एमालेभित्र नयाँ टकराव ल्याउने सम्भावना पनि छ । त्यतिबेला रावल समूहले एमाले फुटाउने सम्भावना पनि छ ।
नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा छ । प्रचण्डले एमसीसीबारे सरप्राइज निर्णय लिएर पारित गर्ने पक्षमा गएमा माओवादीमा पनि विद्रोहको सम्भावना छ । नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङलगायत नेताहरु खुलेरै एमसीसीको विरोध गरिरहेका छन् । उनीहरुले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना देखिदैन । त्यतिबेला माओवादी फुट्न सक्छ । नेकपा एकीकृत समाजवादी पार्टीमा पनि एमसीसीबारे मतभेद छ । अध्यक्ष माधवकुमार नेपाल एमसीसीबारे लचिलो छन् । नेता झलनाथ खनाल भने सहमत छैनन् । एमसीसीको पक्षमा माधव नेपाल पक्षमा गएमा झलनाथ खनाल समूहले विद्रोह गर्न सक्छ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगिसकेको छ । अब डा। बाबुराम भट्टराईले उपेन्द्र यादवलाई अध्यक्षबाट हटाउने या आफै नयाँ पार्टी बनाउने तयारी गरिसकेका छन् । एमसीसीबारे जसपामा पनि मतभेद छ । भट्टराई एमसीसीको पक्षमा खुलेका छन् । यादव भने मौन छन् । उनी प्रचण्डसँग नजिक रहेकाले एमसीसीको विपक्षमा जाने संकेत गरिरहेका छन् । नेपाली काँग्रेसभित्र भने एमसीसीबारे एकमत छ । ६१ जना सांसद नै एमसीसीको पक्षमा देखिएका छन् ।