Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी उपाध्यक्ष पहिलो भेट सकियो अरु भोलि

काठमाडौँ । सत्तामा रहेका बेला जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएको एमाले सत्ता बाहिर पुगेपछि तटस्थ बस्ने अवस्थामा पुगेको छ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
एमसीसी टोलीले ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् । नेपाल आइपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ । कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।