Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी र नागरिकता विधेयक जनतालाई पचेन, प्रधानमन्त्रीकै अगाडि मुर्दाबाद

काठमाडौँ । जनभावना विपरितका काम कुनै पनि सरकारले बलजफ्ती गर्छ भने त्यसको जवाफ तत्कालिन रुपमा र दीर्घकालिन रुपमा मिल्छ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममै विरोध सहनु परेको छ। विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो। नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका थिए।
प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाए। देउवा कोट मिलाउँदै मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट नागरिकता विधेयक खारेज गर, खारेज गर भन्दै प्लेकार्डसहित एकजना युवकले नाराबाजी गरे। कार्यक्रममा बोल्न उठेका देउवा नाराबाजीले अक्क न बक्क भए। तर तत्कालै उनका निजी सुरक्षागार्डले देउवालाई मञ्चतिर लगे।
नागरिकता विधेयकविरुद्ध नाराबाजी गरेका युवकलाई त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्वयंसेवकले तत्कालै नियन्त्रणमा लिएर। तर नियन्त्रणमा लिँदा पनि ती युवकले देउवाविरुद्ध नारा लगाइरहे। ती युवकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा हलबाटै अर्का व्यक्ति नाराबाजी गर्दै निस्किए। उनले देउवालाई एमसीसीको मतियार भन्दै आलोचना गर्दै नारा लगाए। एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं र स्वाधीनताको रक्षा गरौँसहितका चर्का नारा लगाएका ती अर्का व्यक्तिलाई पनि प्रहरीले पक्रिएको छ। यसैबीचमा देउवालाई सुरक्षाकर्मी र स्वयम् सेवकले पोडियममा पुर्‍याएका थिए। उनले विरोधकाबीच उक्त कार्यक्रममा आफ्ना भनाइ राखेर कार्यक्रमस्थलबाट बाहिरिए।

देउवाविरुद्ध आगो ओकल्ने स्वतन्त्र नागरिक
जनताको आक्रोशलाई बेलैमा सम्बोधन गरिएन भने विद्रोह हुनसक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रधानमन्त्री देउवा सहभागी एक कार्यक्रममा उनीविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्का रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आफूलाई स्वतन्त्र नागरिक बताएका छन् । काठमाडौं प्रहरी कार्यालयका प्रमुख भरतबहादुर बोहराले पक्राउ परेका तीनै जनालाई मालिगाउँ प्रहरी वृत्तमा राखिएको बताए । भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादीमा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले नागरिकता विधेयकको विरोध गर्दै प्ले कार्डसमेत देखाएका थिए ।