Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन भइरहेको बहस तत्कालका लागि मत्थर भएको नेताहरूले बताएका छन्। फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै उठेको आवाजबीच मंगलबारको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले तत्काल नेतृत्व परिवर्तनको प्रयास नरहेको स्पष्ट पारेपछि पार्टीभित्रको विवाद केही मत्थर भएको हो।
बैठकमा उपाध्यक्ष पौडेलले करिब आधा घण्टा र महासचिव पोखरेलले करिब ३५ मिनेट धारणा राखेका थिए। दुवैले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि समर्थन जनाउँदै तत्काल नेतृत्व परिवर्तनको पक्षमा आफूहरू नरहेको स्पष्ट पारे। पोखरेलले आफू अध्यक्ष बन्ने तयारीमा नरहेको समेत बताए।
पोखरेलले पार्टी पुनर्गठनको विषयलाई नेतृत्व परिवर्तनसँग मात्र जोडेर हेर्न नहुने धारणा राखेका थिए। कार्यदलले संकलन गरेका सुझावका आधारमा प्रतिवेदन तयार भएको उल्लेख गर्दै उनले प्रतिवेदनमा प्रयोग भएको ‘पुनर्गठन’ शब्दले आफू र ओलीबीच दूरी बढेको बताए।
उनको अभिव्यक्तिपछि बैठकको वातावरण केही परिवर्तन भएको एमालेका नेताहरूको भनाइ छ। सचिव शेरधन राईले नेतृत्व परिवर्तनको बहसमा उपाध्यक्ष र महासचिवले तत्काल त्यस्तो योजना नरहेको स्पष्ट पारेपछि लामो समयदेखिको अन्योल केही हटेको बताए।
तर एमालेभित्र नेतृत्व र पार्टी पुनर्गठनको विषय पूर्ण रूपमा टुंगिएको छैन। अग्नि खरेल, किरण गुरुङ, आनन्द पोखरेल, ठाकुर गैरे, रचना खड्का, आरसी लामिछाने, एकलाल श्रेष्ठ र उर्मिला सुनुवारलगायत नेताहरूले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै ओलीको नेतृत्वमाथि प्रश्न उठाएका छन्।
कतिपय नेताले महासचिव पोखरेलले आफ्नो अघिल्लो धारणा परिवर्तन नगरेको दाबी गरेका छन्। उनीहरूले पुनर्गठनको विषय अझै छलफलमा रहेको बताएका छन्। पूर्वप्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पार्टी पुनर्गठनको विषय अब निरन्तर उठिरहने बताएका छन्।
बैठकमा उपमहासचिव योगेश भट्टराईले बोल्न समय नपाएपछि लिखित धारणा अध्यक्ष ओलीलाई बुझाएका छन्। तल्ला तहबाट प्राप्त सुझाव समेटिएको कार्यदलको प्रतिवेदनलाई कसरी अघि बढाउने भन्ने विषयमा भने अझै निर्णय भएको छैन।
ओलीले केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि मात्र सचिवालय बैठकबाट थप निर्णय लिने तयारी गरेका छन्। बुधबार बिहानका लागि बोलाइएको सचिवालय बैठकसमेत स्थगित गरिएको छ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा मंगलबार ११८ जनाले धारणा राखेका छन्। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने वा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा समेत छलफल भइरहेको सचिव राईले बताएका छन्।
यसले एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वमाथि तत्काल कुनै निर्णय नभए पनि निर्वाचनपछि सुरु भएको नेतृत्व, पार्टी पुनर्गठन र आगामी राजनीतिक दिशासम्बन्धी बहस अझै जारी रहेको देखाएको छ।
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल